Logo

विविध

उपत्यकामा दैनिक ४० हजार सिलिण्डर ग्यास भित्रिँदै, भण्डारण नगर्न संघको आग्रह



काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको अभाव नरहेको भन्दै ग्राहकलाई आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चिति नगर्न आग्रह गरेको छ।

संघले बुधबार जारी गरेको सूचनामा उपत्यकाको दैनिक मागअनुसार करिब ४० हजार सिलिण्डर ग्यास भित्र्याउने व्यवस्था मिलाइएको जनाएको छ। पछिल्ला तीन दिनदेखि तराईका विभिन्न जिल्लामा ग्यास रिफिल गरी उपत्यकामा बिक्री वितरण भइरहेको संघको भनाइ छ।

‘उपत्यकाको दैनिक माग करिब ४० हजार सिलिण्डर रहँदै आएकोमा पछिल्लो तीन दिनमा सोहीअनुसार सिलिण्डरहरू तराईमा रिफिल गरी काठमाडौं उपत्यकामा बिक्री वितरणको व्यवस्था मिलाइएको छ,’ संघले जारी गरेको सूचनामा उल्लेख छ।

आगामी दिनमा पनि बढीभन्दा बढी सिलिण्डर रिफिल गरी उपत्यकामा निरन्तर आपूर्ति गर्ने व्यवस्था मिलाइएको भन्दै संघले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।

गत भदौ १० र १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा कटान गरेपछि सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौं आउन सकेका थिएनन्। त्यसपछि उद्योगहरूले तराईका विभिन्न जिल्लामा सिलिण्डर रिफिल गरी उपत्यकामा पठाउने व्यवस्था मिलाएका हुन्।

संघले देशमा जस्तोसुकै परिस्थिति आइपरे पनि सहज रूपमा एलपी ग्यासको आपूर्ति तथा वितरण गर्दै आएको जनाएको छ। पाँच दशकभन्दा बढी समयदेखि मुलुकभर ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्दै आएको संघको दाबी छ।

 

 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार २०:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।