काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना भएका छन् । ती घटनामा २१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता र २६ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म देशभर विभिन्न विपद्का घटना भएका हुन् ।
प्राधिकरणका अनुसार उक्त अवधिमा सबैभन्दा धेरै ९७ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परी १९ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन् ।
त्यस्तै, अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार र हिमपातको एउटा घटना भएको प्राधिकरणले जनाएको छ ।
बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको छ । अविरल वर्षाका कारण भएका घटनामा ७ सय जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
विपद्का कारण देशभर ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ । विपद्बाट भएको अनुमानित आर्थिक क्षति १ करोड ९१ लाख ६६ हजार रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख रहेका छन् । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार र खोजी कार्य जारी रहेको छ ।



















प्रतिक्रिया