Logo

समाचार

मर्स्याङ्दी नदीको बहाव घटेपछि लमजुङका दुई जलविद्युत् आयोजना सञ्चालनमा



लमजुङ । मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द गरिएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन्।

बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना सोमबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो। नदीमा पानीको सतह र बहाव बढेर जोखिमको अवस्था सिर्जना भएपछि आयोजना आइतबार बिहानदेखि पूर्ण रूपमा बन्द गरिएको थियो।

आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार उत्पादन बन्द गरी आयोजनाबाट आएको पानी पूर्ण रूपमा नदीतर्फ निकास दिइएको थियो। नदीको बहाव सामान्य बन्दै गएपछि सोमबार दिउँसोदेखि विद्युत् उत्पादन पुनः सुरु गरिएको उनले बताए।

‘अहिले नदीमा तत्काल जोखिमको अवस्था छैन,’ भट्टराईले भने। उनका अनुसार मध्यमर्स्याङ्दी आयोजनामा ३५–३५ मेगावाट क्षमताका दुईवटा टर्बाइन छन्।

यस्तै, मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना पनि सोमबार बिहान ११ः५० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार आवश्यक प्राविधिक काम, सरसफाइ तथा अन्य व्यवस्थापन पूरा गरेपछि विद्युत् उत्पादन सुरु गरिएको हो।

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि सुरक्षालाई प्राथमिकता दिँदै दुवै आयोजनाले विद्युत् उत्पादन रोकेका थिए। नदीको बहाव घट्दै गएपछि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम पूरा गरी आयोजना पुनः सञ्चालनमा ल्याइएको हो।

 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार २१:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।