Logo

प्रमुख समाचार

पूर्वप्रधानन्यायाधीश ‘पक्राउ’ प्रकरणमा सर्वाेच्चले भन्यो– त्यस्तो कामकारबाही लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन



काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले कानुनी प्रक्रिया पूरा नगरी कुनै व्यक्तिलाई नियन्त्रणमा लिने कार्य लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने जनाएको हो।

सर्वोच्चद्वारा जारी विज्ञप्तिमा प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानुनले निर्धारण गरेको उचित प्रक्रिया पालना गर्नुपर्ने उल्लेख छ।

‘उक्त कानुनको उचित प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने हुँदा त्यस्तो कामकारबाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन भन्ने हाम्रो दृढ प्रतिबद्धता छ,’ विज्ञप्तिमा भनिएको छ।

गत शनिबार राति प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगेको थियो। उनलाई करिब ११ घण्टा त्यहाँ राखिएपछि रिहा गरिएको थियो।

प्रहरीले भने जबरालाई पक्राउ नगरिएको र सुरक्षा थ्रेटका कारण सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गरेको छ।

 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार २१:३१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।