Logo

प्रमुख समाचार

त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर तोकिएको समयमा सेवामा नफर्किएका तथा फर्किएर पनि अनिवार्य सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।

त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट उक्त रकम असुल गरिएको हो।

अध्ययन बिदापछि सेवामा नफर्किने वा तोकिएको सेवा अवधि पूरा नगर्ने शिक्षक तथा कर्मचारीबाट विश्वविद्यालयले बिदाका क्रममा उपलब्ध गराएको तलब, भत्ता तथा अन्य सुविधासमेत फिर्ता गराउँदै आएको छ। नियमअनुसार त्यस्तो रकममा हर्जानासमेत जोडेर असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका अनुसार थप शिक्षक तथा कर्मचारीको अभिलेख खोजी गरी हिसाबकिताब तयार गर्ने काम भइरहेको छ। हालसम्म हिसाबकिताब भएका अवस्थाहरूमा करिब २१ करोड ५० लाख रुपैयाँ विश्वविद्यालयलाई बुझाउनुपर्ने देखिएको छ।

सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख अध्ययन गरी उनीहरूले विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम निर्धारण गर्ने काम पनि भइरहेको त्रिविले जनाएको छ। निर्धारण भएको रकम असुलउपर गर्ने प्रक्रिया जारी छ।

त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। उनीहरूले studyleave@tu.edu.np मा इमेलमार्फत समेत सम्पर्क गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले जनाएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार २०:४५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।