काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को नेतृत्व तहबाटै प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् । सरकार गठन भएको छ महिना नपुग्दै प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने रणनीति बनाइएको उनको दाबी छ ।
शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै साहले सरकारलाई अन्य दलबाट भन्दा पनि रास्वपाभित्रैबाट चुनौती रहेको बताएका हुन् ।
उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डीपी अर्यालबीच प्रधानमन्त्री शाहलाई असफल बनाउने उद्देश्यले मोर्चाबन्दी भएको आरोप लगाए । रास्वपाको शीर्ष नेतृत्वका गतिविधिलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ थियो ।
साहले लामिछानेको भारत भ्रमण, चीन भ्रमणको तयारी र पुनः धार्मिक यात्राका लागि भारत गएको प्रसंग उठाउँदै रास्वपाको नेतृत्व तहका गतिविधिमाथि प्रश्न गरे । अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको उल्लेख गर्दै उनले शीर्ष नेताहरूका यस्ता गतिविधिलाई शंकास्पद रूपमा हेर्नुपर्ने बताए ।
रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेको साहको आरोप छ । उनले प्रधानमन्त्रीलाई असफल बनाउने सम्भावित प्रयासप्रति सचेत रहन आग्रहसमेत गरे ।
साहले रास्वपा देश र जनताको सवालभन्दा पनि चुनाव र सत्ताकेन्द्रित भएको टिप्पणी गरे । उनका अनुसार पार्टीका नेताहरूको प्राथमिकता निर्वाचन जित्ने र पद प्राप्त गर्नेमा सीमित देखिएको छ ।
‘घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरूलाई कुनै चिन्ता छैन,’ उनले भने, ‘यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ।’
उनले रास्वपाका केही कार्यकर्ताले सामाजिक सञ्जालमा उग्र अभिव्यक्ति दिने र गालीगलौज गर्ने गरेको आरोप पनि लगाए । यस्ता गतिविधिले सामाजिक वातावरण दूषित बनाएको उनको भनाइ थियो ।
साहले रास्वपाको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रधानमन्त्री शाहलाई असफल बनाउने प्रयास हुन सक्ने भन्दै त्यसप्रति सचेत रहनुपर्नेमा जोड दिएका छन् ।




















प्रतिक्रिया