Logo

प्रमुख समाचार

योगेश भट्टराई भन्छन् : हेलिकाेप्टर दुर्घटनाले आशंका उब्जिएको छ



ताप्लेजुङबाट निर्वाचित प्रतनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा देवीको मन्दिरमा जाँदा कहिलै सात जना एउटै हेलिकोप्टरमा चढ्न नहुने बताएका छन् । उनले पाथीभरामा हेलिकोप्टरमा सात जना लैजाँदा दुर्घटनाले विभिन्न आशंका उब्जाएको बताए । ‘ताप्लेजुङको घुन्सामा २०६३ सालमा पनि हेलिकोप्टर दुर्घटना भएर ठुलो क्षति ब्यहोर्नु परेको थियो, यस पटकको दुर्घटनाले पनि धेरै आशंका उब्जाएका छन्,’ उनले भने ।

सरकारले घटनाको अध्ययन गर्न छानविन समिति गठन गरिसकेकाले सत्यतथ्य बाहिर आउनेमा विश्वस्त रहेको भट्टराईले बताए । हिमाली क्षेत्रको भूगोल विकट र मौसम परिवर्तन हुने हुँदा उक्त क्षेत्रको हवाई उडानमा विषेश ध्यान दिनु पर्नेमा उनले जोड दिए । दुर्घटनाको जोखिम पहाड र तराई सबैतिर हुने भन्दै उनले सावधानी अपनाए क्षति न्युनिकरण गर्न सकिने बताए ।

पाथीभरा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अन्तर्राष्ट्रिय उच्च पदस्थ व्यक्तिलाई भ्रमण गराउने प्रयास भइरहेको समेत भट्टराईको भनाई थियो । ‘पर्यटन व्यवसाय ताप्लेजुङको समृद्धिको आधार स्तम्भ हो,’ उनले भने, ‘त्यसैले यो जिल्ला सुरक्षित रहेको सन्देश दिनका लागि भारतको पश्चिम बङ्गाल र सिक्किमका मुख्यमन्त्रीलाई समेत छिट्टै ल्याउने प्रयास गरिरहेका छौं ।’

ताप्लेजुङमा २०६३ सालमा हेलिकोप्टर दुर्घटना हुँदा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनामा निधन भएकाको स्मृतिमा पुङलिङमा एउटा स्मृति पार्क बनाउने पहल गरिने भट्टराई बताए । श्रद्धाञ्जली सभामा बोल्दै उनले पछिल्लो पुस्ताका सम्भावनका बोकेका नेता र अहिलेको सरकारका गतिशिल मन्त्रीको रुपमा रविन्द्र अधिकारीलाई सम्झिए ।

दुर्घटनाको अघिल्लो दिन ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नतिका विषयमा अधिकारीसँग भट्टराईले कुरा गरका थिए । कार्यक्रममा बोल्ने अन्य नेकपाका नेताहरुले मन्त्री अधिकारीको व्यक्तित्व, क्षमता र योगदानको विषयमा चर्चा गरेका थिए । नेकपाका प्रदेश, १ का अध्यक्ष देवराज घिमिरेले अधिकारी जस्तो सुकै जिम्मेवारीलाई कुशलतापूर्वक निभाउन सक्ने क्षमता भएको नेताको रुपमा सम्झना गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।