तराई मधेसको समृद्धि र विकासको लागि नेकपा र नेकपा नेतृत्वको सरकार गम्भीर रहेको पार्टीका प्रमुख तीन नेताले एकै मञ्चबाट घोषणा गरेका छन्। नेकपाको प्रदेश २ ले रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले सरकार विकासको लागि गम्भीरतापूर्वक र सजगतापूर्वक अगाडि बढेको बताएका छन्।
प्रधानमन्त्री ओलीले पृथकवादी र ‘अलगावादी’ राजनीतिको भविष्य नभई देशको समृद्धि नै एकमात्र बाटो देखेर सीके राउत नेतृत्वको समूह देशको अखण्डता र अविभाज्यतालाई स्वीकार गर्दै संविधानप्रति ऐक्यबद्धता जनाएको बताएका छन्।
प्रधानमन्त्री ओलीले नेकपाको एकीकरण पार्टी मोटाएर जीउ सुन्निएको देखाउनलाई मात्र नभएर देशको समृद्धि, शान्ति र समृद्धिको सपना साकार पार्न भएको बताए। यसैगरी तराई मधेसको समृद्धिका लागि २ सय ५३ करोड रुपैयाँको विशेष बजेटको अभियान चलिरहेको बताउँदै रौतहटमा आफू ४६ वर्ष अगाडि भूमिगत बसेको स्मरण गरे। प्रधानमन्त्री ओलीले प्रदेश २ मा चलिरहेको विभिन्न ठूला योजनाको चर्चा गर्दै थप योजना पनि सञ्चालन गर्ने घोषणा गरे।
देशको समृद्धिका लागि समृद्ध नेपाल सुखी नेपालीको नारा तय गर्दै यसका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्। प्रम ओलीले देशलाई उन्नत र देशबासीलाई सुखी बनाउन सबैको भूमिका र सहयोग आवश्यक रहेकोले साथ दिन सबैलाई आह्वान गरेका छन्।
‘७० हजारभन्दा बढी’ मानिस उपस्थित गरुडाको कार्यक्रममा प्रम ओलीले रौतहटको विभिन्न गाउँलाई सम्झेको पनि बताएका छन्। ४६ वर्षपहिले आफू नेकपाको कार्यकर्ता भएर रौतहटको कोपवामा र गरुडा, इनरवारी, भैंसहीलगायत ठाउँमा बसेको स्पष्ट पारेका छन्। रौतहटमा अस्पताल, सडक, दमकल, खानेपानी, सिँचाइलगायत आवश्यकता पूरा गर्ने आश्वासन दिएका छन्।
प्रधानमन्त्री ओलीले नेकपाको एकीकरण पार्टी मोटाएर जीउ सुन्निएको देखाउनलाई मात्र नभएर देशको समृद्धि, शान्ति र समृद्धिको सपना साकार पार्न भएको बताए।प्रधानमन्त्री ओलीले प्रदेश २ का सबै सदरमुकामलाई मुख्य राजमार्गसित जोड्ने बाटोलाई चार लेनको बनाउने घोषणा पनि गरे।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, द्रूत मार्ग निर्माण भएपछि प्रदेशको कायापलट हुने बताउँदै प्रम ओलीले भन्सारहरुको आधुनिकीकरण गरिने पनि बताए। लालबकैया र बागमती नदीलाई नियन्त्रण गर्ने घोषणा गर्दै प्रम ओलीले भारतले सीमानजिकै बनाएको तटबन्धले डुबानमा पर्ने गरेकोले अब सर्वेको काम भइरहेको र केही वर्षमा बाढीको पानीले निकास पाउने घोषणा पनि यसै मञ्चबाट गरे।
प्रदेशका किसानको सिंचाइ समस्या पनि छिट्टै समाधान गरिने बताउँदै प्रम ओलीले औद्योगिकीकरण, कृषिको आधुनिकीकरण, व्यावसायीकरणमा पनि जोड दिए। हरेक स्थानीय तहमा व्यावसायिक विद्यालयको स्थापना गर्ने लक्ष्य लिएर अगाडि बढेको सरकारले विद्यालयको गुणस्तर वृद्धि गरी कलेजको स्तर वृद्धि गर्ने पनि बताए।
सीके राउतलाई मूलधारमा ल्याइसकेपछि राजपाप्रति व्यंग्य गर्दै प्रम ओलीले भने, ‘एकचोटि अलिकति भोट ल्याएर प्रदेशमा सरकार बनाइहालेपछि बढी फुर्ति लगाउनुको कुनै अर्थ छैन। प्रदेश २ मा अर्कोपटक नेकपाकै दुईतिहाइ सरकार बन्छ।’ आफू मधेसमै बसेको र मधेसबाटै आन्दोलन सुरु गरेको भन्दै उनले आफूलाई मधेसविरोधी भन्दा आश्चार्यसँगै दुःख लागेको बताए।
आमसभामा देखिएको उपस्थितिले नेकपाप्रति लागेको मधेसविरोधीको आरोपको जवाफ दिएको प्रम ओलीले घुमाउरो किसिमले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे।



















प्रतिक्रिया