प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेताले काठमाडौं छाडेका छन् । अराजक बाटोमा सरकार र आन्तरिक किचलोमा पार्टि अल्झिरहेको बेलामा उनीहरुले मुलुकको संघिय राजधानी काठमाडौं छोडेका हुन् ।
दुई तिहाईको बहुमत सहितको सरकारलाई चुनौति दिन र कांग्रेसको पक्षमा जनताको मत र युवाहरुको साथ खोज्दै संगठन सुदृढि करण गर्नका लागि उनीहरुले काठमाडौं छोडेर देशका कुना कन्धरामा लम्किएका हुन् । साथै युवा नेताहरुले सरकारका अराजक कामहरुलाई जनताको अघि लैजाने प्रतिबद्धता समेत जनाएका छन् । सरकारको विरोधमा नेपाल तरुण दल अहिले मुलुकको विभिन्न स्थानमा पुग्ने भएको छ ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले लगायत शिर्ष युवा नेताहरुले आफ्ना जिल्ला केन्द्रित बनाएरु देश दौडाहामा जुटेका छन् । यतिबेला अध्यक्ष बस्नेत कांग्रेस सभापति शेरबहादुर देउवासंग विभिन्न जिल्लाहरूमा संगै रहने छन् भने महासचिव शाहीले सोमबार देखि जिल्ला केन्द्रित कार्यक्रम तय गरेर त्इस तर्फ प्रस्थान गरेका छन् । शाही सोमबार तरुण दलको कार्यक्रममा सहभागी हुन चितवन प्रस्थान गर्दै छन् ।
चितवनको कार्यक्रम सम्पन्न भएपछि महासचिव शाही फागुन २८ गते मंगलबार नवलपरासी र बुटवलको कार्यक्रममा सहभागी हुनेछन् ।
फागुन २९ गते अर्घाखाँची र फागुनको ३० र ३१ गते कपिलवस्तु जिल्लामा हुने कांग्रेस र तरुण दलका कार्यक्रमहरूमा सहभागी हुनेछन् ।
महासचिव शाहीले कम्युनिस्ट सरकारको अधिनायकवाद विरुद्ध आन्दोलन गर्ने बेला आएकाले राजधानीमा भन्दा जिल्ला केन्द्रित भई नेता तथा कार्यकर्ताहरूलाई संगठित गर्नुपर्ने बेला आएको बताए ।
‘कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन अति आवश्यक भैसकेको छ’, उनले भने, ‘संविधान विपरितका गतिविधि हुन थालेका छन् । कम्युनिस्ट सरकारले बिखण्डनकारीलाई साथ दिएको छ । मुलुकको राष्ट्रियता र स्वतन्त्रता बचाउन युवा तरुणहरूको काँधमा जिम्मेवारी आएको छ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा।शेखर कोइरालासहितका नेताहरू पार्टी कार्यक्रममा सहभागी हुन राजधानी बाहिरका विभिन्न जिल्लाहरूमा पुगेका छन् ।
जिल्लामा हुने सानाभन्दा साना कार्यक्रमहरूमा सहभागी भएर कांग्रेस नेताहरूले गाउँका कार्यकर्ताको मनोबल उच्च बनाउँदै आएका छन् ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले संविधान उल्लंघन गर्नेदेखि अधिनायकवादको सुरुवात गरेको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।
बिखण्डनकारी सीके राउतसँग प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापाले विवादास्पद ११ बुँदे सहमति गरेपछि चौतर्फी आलोचना भएका बेला कांग्रेस र तरुण दलका नेताहरूले आफूलाई जिल्ला केन्द्रित बनाएका हुन् ।
नेपाल तरुण दलका महासचिव शाहीले बिखण्डनकारी सीके राउतलाई जेलमा थुन्नुपर्नेमा ११ बुँदे सहमति गरेर ओली सरकारले राष्ट्रिय हिरो बनाएको भन्दै विरोध गरिसकेका छन् ।



















प्रतिक्रिया