Logo

विचार / ब्लग

‘युवाहरू हो आउनुहोस् अब राजनीति सत्ता कब्जा गरेर “समृद्ध राष्ट्र बनाऊँ”



नेपाल अहिले कोरोना कहरको प्रतिकूलबाट आक्रान्त भई रहेको छ । विश्वमा कोभिड-१९ ले आर्थिक मन्दीको हाहाकारलाई सन् १९३० को प्राचीन स्मरण गराउने चेष्टा गर्दै छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले भर्खरै विश्व अर्थतन्त्रमा १०% ले गिरावट हुने प्रक्षेपण गरेको छ । नेपाल पनि आर्थिक समस्याहरूको चंगोलबाट फुत्किने कुनै उपायहरू अवलम्बन गर्न सकेको छैन । देशको अर्थतन्त्र ऋणात्मक ओरालो लाग्दै छ। देशको प्रमुख आम्दानीको स्रोत रेमिटेन्सको भूर्की फुटी सक्यो ताकी भूर्की भित्र भएको ८ अर्व भन्दा बढी रकम फूटालेर कोभिड-१९को नाममा दक्षिणा चढाई सक्यौँ ।

अव नत भूर्की बाँकी नै छ , नत भूर्की भर्न सक्ने आधार नै छ। नेपाली युवाहरू विदेशी भूमिमा रोग र भोकले  झैँ  कुकुर शोकले आक्रान्त मरिरहेका छन।  जीवनलाई तिलाञ्जली दिनु भन्दा स्वदेश मै जीवन आहुति दिने र स्वरोजगार अनुकूल वातावरणमा जिउन प्रयत्न गर्ने धेयले लाखौँ युवाहरू स्वदेश फर्किरहेका छन् । कतिपय युवाहरू सामाजिक समस्याहरूबाट ग्रसित छन् । धेरैको घरबास विहीन हुने अवस्था छ । ऋण कर्जा गरेर विदेशी भूमिमा गई आर्थिक उपार्जन गर्ने र जीवन निर्वाह मा सहजीकरण गर्ने हजारौँ युवाहरूको सबै सपना फुटेको सिसा झैँ चकनाचुर भएको छ ।

अर्को तर्फ स्वदेशी भूमिमा निजी क्षेत्रका विभिन्न उद्योग ,कलकारखाना , रेस्टुरेन्ट, क्याफे, यातायात क्षेत्र, निजी एवं संस्थागत विद्यालयमा कार्यगत कर्मचारी एवं शिक्षकहरूको अवस्था झन् भयावह छ। योग्यता हुँदा हुँदै पनि थोरै पारिश्रमिक लिएर काम गर्नु पर्ने बाध्यता एकातर्फ छ भने अर्को तर्फ महिनौँ पिच्छे मजदुर सङ्गठनका नाममा बुझाउनुपर्ने लेबीबाट ठुलो मारमा परेका छन् । नत लेबी उठाउने सङ्गठनले सेवा सुविधा वृद्धिमा सक्रिय भूमिका निर्वाह गरेको देखिन्छ । यो महामारी फैलिएको र बन्दाबन्दीको चपेटामा परेका बेला न त निजी क्षेत्रले आफ्ना कर्मचारीलाई राहत वितरण गर्न सक्यो नत कुनै लेबी उठाउने सङ्गठनले नै सक्यो सधैँ भरी निजी क्षेत्र र यस क्षेत्रमा काम गर्ने कर्मचारी धेरै मारमा परेका हुन्छन् ।

अहिले भने तलब पाउने वा नपाउने अन्योल निजी क्षेत्रमा काम गर्ने कर्मचारीलाई छ। ४ महिना देखि ठप्प निजी क्षेत्र पनि सरकारको पटक पटकको कर तिर्न ताकेताबाट कर कसरी तिर्ने  ?आफ्ना कर्मचारीलाई तलब कसरी उपलब्ध गराउने ? आफ्नो व्यवसाय को भविष्य अब के होला भन्ने चिन्ता वाट ग्रसित छन् । यस्ता समस्या तर्फ राज्यको कुनै स्पष्ट रणनीति, भावी योजना र कार्यक्रम छैन । यो सङ्क्रमणकालीन घडीमा समस्याहरू को मनोवैज्ञानिक एवं मनोसामाजिक असरको कारणले आत्महत्या ३०% ले वृद्धि भएको देखिन्छ । कतिपय मानिसहरूको भने मानसिक सन्तुलन गुमाउने अवस्था हुने गरी मन डुलाइरहेका छन् । यस्ता समस्याहरू मध्ये धेरै जसो युवाहरू पीडित रहेको विभिन्न प्रक्षेपण देखाएको पाइन्छ ।

सरकार यतिखेर असक्षम साबित भएको छ । स्वदेश फिर्ता भएका लाखौँ युवाहरूको भविष्य प्रति सरकारको नत रोजगार सृजना गर्ने ठोस योजना छ नत उत्पादन क्षेत्रमा युवा मैत्री लगानी गर्ने वातावरण निर्माण गर्न सकेको छ । यस तर्फ राज्यको छिट्टै ध्यान जान जरुरी छ ।राजनीतिक वितृष्णा पैदा भएका युवाहरू राजनीतिक छत्रछायाबाट भाग्न खोजिरहेका छन् । किनकि नेपालको लागि राजनीति सबैभन्दा ठुलो, आकर्षक र सजिलो जागिर भएको छ । न योग्यता, न पढाई, न सिप, न तालिम, न शिक्षा, न ठाउँ ठाउँ सरुवा, न उमेरको हद, न बोझ र झन्झट, न रिटायरमेन्ट, आजीवन चितामा आगो नबाल्दा सम्मको ढुक्कको जागिर!

एक पटक संसद् बने ३० करोड, प्रदेश संसद् बने १५ करोड, मेयर बने ५ करोड, गा.पा अध्यक्ष बने डेढ करोड खल्ती बाट खेलाउन पाउँछन् । त्यस बाहेक तलब भत्ता छँदै छ। सर्वोच्चमा तलब दिनु अनुपयुक्त छ भन्ने रिट परेमा सर्वोच्चले ले बदर गरेमा कानुन संशोधन गरी १४/१५ शीर्षकमा तलब भन्दा बढी हुने गरी भत्ता बढाइन्छ । “जसको हात उसकै पोल्टो” भने झैँ आफू अनुकूल हुने कानुन, नीति तथा कार्यक्रम नेताहरूले नै तय गर्दछन् । योग्य,नैतिकवान्, शिक्षित, क्षमतावान् युवाहरू राजनीतिमा होमिन चाहँदैनन् । राजनीति अँगालेर नीतिगत भ्रष्टाचारको दलदलमा फस्न चाहँदैनन् ।

नत पथ भ्रष्ट भई जनताका सामु आसका झुटको खेती गर्न चाहन्छ युवा । नत लामो समय देखि नै पार्टी को झन्डा र झोला बोकेको हुन्छ । नत साम,दाम,दण्ड भेद लगाएर चुनावी प्रचारमा आश्वासन र आसका पोकाहरू बाँड्न एवं झुटको प्रचार गर्न ,समारोह, सभा सम्मेलन गरी सम्बोधन गर्न इच्छुक हुन्छ युवा । नत टोले, झोले, मुन्द्रे, ग्वाँजे, पटमूर्ख, हान भने हानिदिने तान भने तानिदिने कुचेष्टा को चंगोलमा नै फस्न चाहन्छ युवा । नत अब चुनावी अभियानमा गाऊ भरिका खसी ,कुखुरा १० वर्षे पुरानो जाँड, कोदोको रक्सीलाई लगानी गर्ने नेताहरूको जमातपछि लाग्नेछन् युवा । केही खलनायक एवं नवयुवक पात्रहरूलाई नशा र नेताहरूको झुटको चीत्कारबाट अब वञ्चित गरिनुपर्दछ । यस्ता क्रियाकलापमा अब युवाहरू रुमल्लिनु हुँदैन । युवाहरूकै जागरण अभियान मार्फत यस्ता कुकृत्य र विसङ्गतिको अन्त्य गर्ने महान् अभियानमा अभ्यस्त हुनुपर्दछ । निर्वाचनको बेला घरघरमा गई पैसा,चामलका बोरी दिँदै विकास र समुन्नत एवं संवृद्धि गर्न अठोट गर्ने कायापलटको लघुकथा सुन्ने अब युवाहरूलाई फुर्सद हुँदैन । अब युवाहरू राजनीति गर्ने नेताहरू बाट वाक्क भैसकेका छन्। यही कारणले युवाहरू एकीकृत हुँदै स्वाभिमान र शक्तिशाली बन्दै छन् ।

सबै राजनीति गर्ने नेताहरूले भ्रष्टाचार र पदीय दुरुपयोग गरेका छन् भन्ने पनि होइन तर धेरै भन्दा धेरै नेता गणहरू सत्तामा पुगेपछि आर्थिक प्रलोभनमा परेका उदाहरणहरू छरप्रष्ट देख्न सकिन्छ । योग्यता र क्षमता भएका नेता छैनन् भन्न खोजेको मात्र होइन तर तिनै तह सङ्घ,प्रदेश र स्थानीय निकायमा धेरै % कम क्षमता र योग्यता भएका नेतृत्व गरेका नेता गणहरू छन्। थोरै सङ्ख्यामा युवा नेताहरू छन्।  ती युवा नेताहरूले सत्ता सम्हाल्न पाउँदैनन् । त्यी युवा नेताहरू वरियताक्रमको अन्त्य लाइनमा पर्दछन् । त्यी नेताहरूको पालो छिटोमा ६० वर्ष उमेर ढल्केपछि ।  यिनै ६० वर्षे नेताहरूलाई युवा नेता भनिन्छ । जोस, जाँगर, शक्ति र क्षमता प्रदर्शनी गर्ने बेला सम्झेर सत्ता सम्हालेका ६० वर्षे उमेरका नेताहरू, सूर्य अस्ताउँदै गरेका बखत तेजिलो घाम बनेर आउनु समान जस्तो हुन्छ । सूर्य अस्ताउन खोजेको उज्यालो जुनले झिसमिसे साँझको मात्र सङ्केत गर्दछ । त्यो अँध्यारोपनलाई झिमिक्क झिमिक्क उज्यालोपन पार्ने चेष्टा त केवल जूनकेरी ले मात्र गर्दछ । हो, यही जूनकेरीको उज्यालो बनाउने चेष्टा झैँ ६० वर्षे माथिका नेताहरूको सत्ता मोह र अकरणीय कार्यले युवा नेतृत्व पङ्क्तिहरू ओझेलमा छन् ।अनि कसरी समृद्धि र विकासको गतिले मूर्त रूप पाउँछ ?

राजनीतिक पार्टीमा पार्टीको नेतृत्व पङ्क्ति पनि ६० वर्ष भन्दा माथि कै उमेर समूहका हुन्छन् ।त्यहाँ पनि वरीयता क्रमबाट युवा नेतृत्व ओझेलमा परेको छ । पार्टीको महाधिवेशनमा प्रत्येक पार्टीले युवा पङ्क्तिलाई नेतृत्व सुम्पिन हिचकिचाहट गरेका हुन्छन्। युवा नेताहरू पनि नेतृत्व सम्हाल्न लाभान्वित देखिँदैनन् उल्टै गुट र उपगुटको चंगोलमा फसिरहेका हुन्छन् । अनि कसरी राजनीतिक पार्टी का एजेन्डाहरू पूरा हुन्छन् ? दिगो विकासका योजनाहरू ओझेलमा पर्नु, भ्रष्टाचार र आर्थिक दोहनको विसृङखलताले प्रशय पाउने एक प्रमुख कारण युवाहरूको नेतृत्वमा हस्तक्षेप गर्न सक्ने क्षमताको कमीले पनि हो ।

अब त अति भो राजनीतिको चंगोलमा फसेका युवाहरू हो महाधिवेशनमा युवा मैत्री वातावरण सिर्जना गरी पार्टीका अग्रपङ्क्तिमा आउन भ्रष्टाचार र अनियमितता लाई निस्तेज गरी सुशासनयुक्त समाजको निर्माण गरी भव्य र सभ्य राष्ट्र को स्तर उन्नति गर्नु पर्दछ । देशको विकास आयोजनाको प्रक्रियामुखी पद्धति नीति र नियम , झन्झटिलो शासन प्रणालीलाई यथाशीघ्र परिवर्तन गरी छिटो,छरितो, मितव्ययी प्रणाली सँगै आर्थिक पारदर्शिता कायम गर्नु पर्दछ । यसको लागी सुरुवात को पहिलो चरण भनेकै पार्टी महाधिवेशनमा युवाहरू ले पार्टी सत्ता कब्जा गर्नु पर्दछ । बुवा ,काका उमेरका वरिष्ठ, ज्येष्ठ नेता गणहरूलाई अभिभावकत्व भूमिका निर्वाह गर्न सल्लाहकारको जिम्मेवारी बहन गराई युवापंक्तिहरूले राजनीतिक नेतृत्व लिनु पर्छ ।

सेता फुलेका दारी र कपाल भएका नेताहरूले विकास आयोजनामा गरेका प्रतिबद्धता पूरा हुन सकेको छैन। त्यी प्रतिबद्धता न त वार्षिक नीति तथा कार्यक्रम नत वार्षिक बजेटमा समाहित गरिन्छ । नत कोर्रा कागजमा निर्दिष्ट आयोजनाहरू को कार्यान्वयन गरिन्छ । त्यही गाउँले युवा नेता भेट्न राजधानी हुइँकिनछ। नेता भेट्न सुरक्षा गार्ड लाई समय माग्दछ। तर समय भने नेताका पिएको लागि छुट्टाएको हुन्छ । नेताहरूले होइन गुनासो सुन्ने नेता को पिएले सुन्छ । अनि लामो लाममा लाइनमा बसेर खाडी मुलुकमा जान पासपोर्ट बनाउन प्रेरित गर्न तल्लीन र पोख्त हुन्छन् नेताका पिएहरु।।। अनि राज्य चलाउन remittance भित्र्याउने ढाल बनाइन्छ युवाहरूलाई !

यही remittance भित्र्याउने ढाल बनाएका युवाहरूलाई यो विश्व महामारी कोरोना सङ्क्रमणबाट बचन “जीवन रहे जीवन सुधार्न र सिँगार्न” सकिन्छ भन्ने मान्यता राखी दिनहुँ लाखौँ सङ्ख्यामा युवाहरू नेपाल फर्किरहेका छन् । अभावै अभावको चङ्गुल छिचोलेर स्वदेश फर्किएका युवाहरू लाई अब विदेशमा जाने र पठाउने वातावरण सदा सदा को लागि अन्त्य गर्नुपर्छ।  चोटिला र मर्मस्पर्शी नीति तथा कार्यक्रम विशेषतः युवाहरूकै लागि वार्षिक बजेट तय गरेर मात्र हुँदैन कार्यान्वयन र प्रयोग को विधिबाट खारिएर देश लाई आमूल परिवर्तन गर्न उच्च मनोबल र जङ्गेपनाका साथ सरकार अघि बढ्नुपर्छ । स्वदेशमा रहेका र विदेशबाट आउने बेरोजगारी युवा लाई विकास निर्माण , उद्योग, कलकारखाना र आधुनिक कृषि पेसामा संलग्न बनाउनुपर्छ ।

“स्वदेशी श्रम स्वदेशमै पसिना “को नीति अनुसार “हात हातमा कृषि सामग्री’ गाउँ गाउँमा रोजगारी अभियान सञ्चालन गर्ने महान् कार्यमा प्रदेश नम्बर ५ सरकारले असार १ गते ६५ करोड रकम विनियोजन गरी ४२ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राम्रो राखेको छ । तर कार्यान्वयन हुने वा नहुने युवाहरूलाई यो कार्यक्रम बाट लाभान्वित गराउन सक्ने वा नसक्ने यो भने समय ले नै देखाउने छ । अन्य प्रदेशहरूमा समेत यस्ता प्रकारका कार्यक्रमहरू , प्राविधिक सेवा प्रवाह , उत्पादन सामग्रीहरू को उपलब्धता र यान्त्रीकरण लगायत कोभिड विशेष कृषि कार्यक्रम र युवा सशक्तीकरण गर्दै स्वरोजगार सृजना गर्ने खालका कार्यक्रमका लागि करोडौँ रकम विनियोजन गरेका छन् । यी कार्यक्रम मार्फत थप लाखौँ रोजगारी सिर्जना गर्ने लक्ष्य तय गरेको पाइन्छ । तर ठोस् कार्यान्वयन गर्ने विशेष रणनीति भने सङ्घीय सरकार र प्रदेश सरकार दुवै सँग देखिँदैन ।

तथापि आशा गरौँ बजेट , विभिन्न कार्यक्रम तथा आयोजनाहरू पूर्ण कार्यान्वयन हुने छन् । अन्यथा यिनै बेरोजगारी युवाहरूले राज्य को बागडोर समालेको सरकार एवं शासन प्रणाली लाई आन्दोलनको ठुलो आधि भेरी को “टोर्नाटो”सृजना गरी कार्यकारी राष्ट्रपति शासन प्रणाली हुने गरी सत्ता कब्जा गर्नेछन् । त्यसैले युवाहरू हो हरेक चिज को समाप्ति र सम्भावना विषम परिस्थिति एवं अभाव नै अभावहरूको सगोलबाट नयाँ अवसर, विकास र समृद्धिको व्युत्पती हुन्छ । त्यसैले कोरोना कहर हाम्रो अगाडि चुनौती मात्रै होइन ।यो नेपालको इतिहास बनाउने, युवाहरूलाई एक ढिक्का बनाउने र एउटै थुँगा को पङ्क्ति मा समाहित गर्ने स्वर्णिम अवसर हो । युवा जनसङ्ख्या अधिकतम रहेको अवसर र वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई लाभको रूपमा उपयोग गरी उच्चतम उत्पादक शक्ति को रूपमा परिचालन गर्नु र स्वदेश मै काम गर्न युवाहरू तल्लीन हुनु अहिले को ज्वलन्त आवश्यकता हो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १४:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।