Logo

प्रमुख समाचार

सरकारको नति तथा कार्यक्रम शुक्रबार आउने, यस्तो छ नयाँ कुरा !



राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।संघीय संसद्का दुवै सदनको बैठक शुक्रवार अपराह्न ४ बजे बस्दैछ ।

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।सरकारको नीति तथा कार्यक्रमको आधारमा सरकारले जेठ १५ गते संसद्‍मा आगामी आर्थिक वर्षको बजेट ल्याँउँदैछ ।

के छ निति तथा कार्यक्रममा

अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कंडेल र प्रधानमन्त्रीका सहयोगीहरूले नीति तथा कार्यक्रमको ड्राफ्ट गरिरहेका छन् । ड्राफ्ट तयार गरेर अर्थमन्त्री खतिवडा विश्व बैंकको कार्यक्रममा सहभागी हुन फिजी गएका छन् ।

प्रधानमन्त्री ओली निकटस्थ नेताका अनुसार ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल तुल्याउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ । यसअघि नेकपा सचिवालय बैठकले परिवर्तनको प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो ।

मंगलवार संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रममा केही नयाँ कुरा आउने संकेत गरेका थिए । गत वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति नेकपाभित्र नै असन्तुष्टि बढेको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै पूरक बजेट ल्याउनुपर्ने बताएका थिए । चुनावको समयमा नेकपाले जनतासामु लगेको घोषणा पत्रलाई आधार बनाएर नीति तथा कार्यक्रम आउने नेकपा नेताहरू बताउँछन् ।

सामाजिक सुरक्षाका कार्यक्रमलाई केन्द्रमा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रधानमन्त्रीको ‘कोर टीम’ले तयार गरिरहेको नीति तथा कार्यक्रमबारे नेताहरू भने अनभिज्ञ छन् ।

‘हिजो संसदीय दलको बैठकमा प्रधानमन्त्रीज्यूले वृद्ध भत्ता बढ्छ भन्ने संकेत गर्नुभएको थियो, त्यो बाहेक नीति तथा कार्यक्रमबारे सांसदहरूसँग छलफल नै भएन,’ एक सांसदले भने ।

संसद्‍मा सरकारको नीति तथा कार्यक्रमपछि २१ गते बस्ने संसदीय दलको बैठकमा छलफल हुने ती सांसदले बताए । मंगलवारको बैठकमा ओलीले आफू व्यस्त रहेको भन्दै सुझावहरू उपनेता र सचेतक मार्फत् उपलब्ध गराउन आग्रह गरेका थिए।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १२:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।