Logo

प्रमुख समाचार

धमाधम शपथ बहिष्कार हुँदा नेकपाको एकीकरणको अन्तिम चरणमा



एकीकरण प्रक्रियामा जटिल मानिएको जिल्ला नेतृत्वको टुंगो लागेलगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वले बाँकी काम एक साताभित्रै टुंग्याउनेगरी अन्तिम गृहकार्य गरेको छ ।

सोमबारै सचिवालय बैठकबाट पोलिटब्युरो गठन र जनसंगठनको एकीकरण टुंग्याउने तयारी थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपाल पारिवारिक कामको सिलसिलामा अमेरिका प्रस्थान गरेकाले एकीकरण प्रक्रियाको बाँकी काम केही दिन पर धकेलिएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल शनिबार स्वदेश फर्किएलगत्तै सचिवालयबाट पोलिटब्युरो गठन र जनसंगठनको एकता टुंग्याउने शीर्ष तहको समझदारी छ । अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपालसँग आइतबार लामो कुराकानी गरेका थिए ।

पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ जना रहनेगरी सिनियरिटीका आधारमा पोलिटब्यूरो गठन गर्नेगरी सूचि तयार भइसकेको छ । उक्त सूचिमा प्रदेश पदाधिकारीहरूमध्ये २४ जना मात्रै समावेश रहेकाले बाँकी चारजनालाई पनि समेट्ने कि नसमेट्ने विषय मात्र नेताहरूबीच टुंगिन बाँकी रहेको बताइएको छ ।

साबिक कमिटीमा रहेकाबाहेक वरिष्ठताका आधारमा चयन गर्दा केही प्रदेश पदाधिकारी पोलिटब्युरोको सूचीमा परेका छैनन् ।
तर, प्रदेश कमिटीमा केन्द्रीय सदस्यहरूसमेत स्वतः पदेन सदस्य रहेकाले सूचीमा नपरेका प्रदेश पदाधिकारीलाई पनि वरीयतामा माथि रहनेगरी पोलिटब्युरोमा समेट्ने कि नसमेट्ने द्विविधा उत्पन्न भएको बताइएको छ ।

विधान र वरिष्ठताको मापदण्डभित्र उनीहरू सूचिमा पर्दैनन् तर जिल्ला ईन्चार्ज नै पोलिटब्यूरो सदस्यलाई बनाउने र केन्द्रीय सदस्यहरू प्रदेश सदस्यसमेत रहने भएकाले कसरी गाँठो फुकाउने भन्ने अप्ठ्यारो देखिएको सचिवालय स्रोतले जनाएको छ ।

उता, जनसंगठनहरूमध्ये युवा, विद्यार्थी, महिला, मजदुर, किसान, पेसागत महासंघ नेपालजस्ता संगठनको भागबन्डा पनि करिब–करिब टुंगो लागिसकेकाले ढिलाई गर्न नहुने पक्षमा नेताहरू देखिएका छन् । यद्यपि, जिल्ला एकीकरणकै मापदण्ड जनसंगठनमा लागू गर्ने कि नगर्ने नेताहरूबीच मतैक्य भइनसकेको बताइएको छ ।

धमाधम शपथ बहिष्कार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले साबिक कमिटीको वरिष्ठताको मापदण्डलाई आधार मानेर जिल्ला नेतृत्वको एकीकरण टुंगो लगायो ।यो मापदण्डअनुसार तत्कालीन एमालेले ४४ र माओवादीले ३३ जिल्लामा अध्यक्षसहिको नेतृत्वको भागबन्डा भयो । जसअनुसार आफ्नो समूहले अध्यक्ष पाएको जिल्लाबाहेकमा दुवै समूहका साबिक अध्यक्षहरू स्वतः सचिवमा घटुवा भए ।

एकीकरणका क्रममा अहिले केन्द्रीय सदस्य रहेका र तत्कालीन माओवादीमा जिल्ला अध्यक्ष रहेका नौजना नेता जिल्ला सचिवमा घटुवामा परेका छन् । उता घटुवामा परेका पूर्वएमालेतर्फका तीन जना जिल्ला सचिवले शपथग्रहण नै बहिष्कार गरेका छन् ।

सुदूरपश्चिम प्रदेशले आइतबार आयोजना गरेको जिल्ला नेतृत्वको शपथग्रहण कार्यक्रम तीन जिल्ला सचिवहरूले बहिष्कार गरेका हुन् । डडेलधुराका तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंहले आफूभन्दा कनिष्ठ मातहत सचिव नबस्ने भन्दै शपथग्रहण बहिष्कार गरेका हुन् । तीनैजना एमाले समूहबाट सचिवमा नियुक्त भएका थिए ।

मोरङका गोपी अछामी, सिरहाका प्रमोदनारायण यादव र काठमाडौंका हिमाल शर्माबाहेक अरू ६ जनाले आफूभन्दा जुनियरको नेतृत्वमा बस्नुपर्नेछ ।

मोरङका अध्यक्ष विनोद ढकाल र काठमाडौंका कृष्ण राई भने केन्द्रय कमिटी सदस्य नै रहेकाले वरिष्ठता विवाद छैन । यद्यपि, पूर्वएमाले समूहबाट दोहोरो जिम्मेवारी पाएकाले उनीहरूको दुवै हातमा लड्डु भएको छ । उता, काठमाडौंका हिमाल शर्माले सचिव नबन्ने बताउँदै आएका छन् ।

पूर्वमाओवादीतर्फ केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरूमा गोपी अछामी (मोरङ), डाचाराज वाग्ले (सर्लाही), युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), श्रवण यादव (धनुषा), हिमाल शर्मा (काठमाडौं), सालिकराम जमरकट्टेल धादिङ र दधिराम न्यौपाने (रूपन्देही) छन् ।

त्यस्तै, पूर्वमाओवादीबाटै अशोक मण्डल (सप्तरी), रामकुमार यादव (सिरहा), राजु खड्का (महोत्तरी) र राजन दाहाल (सिन्धुली) को केन्द्रीय सदस्यबाट जिल्ला अध्यक्षमा घटुवा भएको छ, बुधबारमा उल्लेख छ ।

पद अस्वीकार गरेको खण्डमा वरीयतामा अगाडि रहेकालाई जिम्मेवारी दिने अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी भइसकेकाले त्यसले खासै असर नपर्ने नेकपाका नेताहरू बताउँछन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १३:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।