Logo

राजनीति

केपी ओलीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको काँग्रेसकोमा आपत्ति



नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै आपत्ति जनाएको छ ।शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको आरोप लगाएको हो ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भन्ने शब्दाबली प्रयोग गर्नु सैद्धान्तिक रुपमै गलत भएको दाबी कांग्रेसले गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताए ।

उनले भने, ‘मेरो सरकार भन्नु सैद्धान्तिक रुपमा नै गलत हो । प्रधानमन्त्री केपी ओलीजीले विद्यादेवी भण्डारीलाई कार्यकारी राष्ट्रपति जस्तो या राजामहाराजा जस्तो पोजिसनमा राख्न खोजिरहेको जुन खालको बजारमा हल्ला भएको थियो त्यसलाई अझै अगाडि बढाउने ढंगले ल्याइएको छ । यो विल्कुलै संसोधन गर्नुपर्छ । ”

कांग्रेसले नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दा को संज्ञा दिएको छ । कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराई स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा पनि राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको जनाएको छ । सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।

प्रमुख सचेतक खाँडले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराउने, स्थानीय सरकारलाई क्रियाशिल गराउने सोच नभएको तथा राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने खालको नीति कार्यक्रम आयो । साधन स्रोत बिनाको एउटा पुलिन्दा जसले सपना बांड्न सक्छ तर यथार्थ रुपमा आम नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न सक्दैन ।

नीति र कार्यक्रमको आधारशिला नै कमजोर छ । यसको सोचाई र दृष्टिकोणहरु नै कमजोर छन् । यसको प्रस्तुतिकरण नै पुराण जस्तो छ ।”सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि गरेको उच्चारण विवादमा तानिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ११:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।