प्रधानमन्त्री केपी शर्मा यही बैशाख २६ गत्ते कम्बोडिया र भियतनामको भ्रमणमा जादैछन् । बुद्ध जयन्तीको सेरोफेरोमा हुन लागिरहेको भ्रमणमा नेपालको तर्फबाट प्रधानमन्त्री दक्षिणपूर्वी एसियाका दुई मुलुक क्याम्बोडिया र भियतनाममा जान लागेका हुन् ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले क्याम्बोडियाका प्रधानमन्त्रीले पहिलो नै भ्रमणको निम्तो दिएको जानकारी दिएका छन् । भियतनाममा हुने ‘वेशाक डे’को अवसरको कार्यक्रममा सम्बोधनका लागि प्रधानमन्त्रीलाई बोलाइएको हो । भियतनाममा हुने कार्यक्रमलाई भारतीय उपराष्ट्रपतिले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री आफै जानुको कारण यस्तो छ !
प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्वेन सिएन फुक र क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा दुई देशको भ्रमणमा जान लागेका हुन् । क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन सन् २०१८ मा नेपालमा भएको विवादास्पद एशिया प्यासिफिक समिटमा पनि भाग लिन आएका थिए । त्यो भन्दा अघि संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएको बेलामा प्रधानमन्त्री ओली र हुनसेनबीच न्यूयोर्कमा नै कुराकानी भएको थियो । उनको नेपाल भ्रमणको क्रममा केही समझदारी भएपनि उल्लेख्य रुपमा दुई देशबीच सहकार्य भने भएको छैन ।
अहिले दुवै देशमा बुद्ध धर्म मान्ने गरिएको छ । अनि दुवै देश अहिले कम्युनिष्ट सत्तामा रहेका देशका रुपमा समेत चिनिन्छन् । त्यसैले कम्युनिष्ट वा बुद्धको नाता जे लगाएपनि हुने अवस्था देखिएको छ ।
को हुन त हुसेन ?
क्याम्बोडियन पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका उनी सन् १९८५ देखि क्याम्बोडियामा निरन्तर प्रधानमन्त्री छन् । उनी विश्वकै सबैभन्दा लामो समयदेखि कार्यरत प्रधानमन्त्रीका रुपमा समेत चिनिन्छन् । उतिबेला सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्तिका रुपमा पनि उनी चर्चित थिए । ३२ वर्षको उमेरमा नै उनी प्रधानमन्त्री भएका हुन् ।
आफ्ना विपक्षीहरुलाई ध्वस्तै पार्ने क्षमता भएका व्यक्तिको रुपमा समेत उनलाई चिनिन्छ । तत्कालीन प्रजातान्त्रिक कम्पुचियामा खमेरुज आन्दोलनका क्रममा बटालीयन कमाण्डरका रुपमा उनले काम गरेका थिए । उनीमाथि भियतनामको उक्साहटमा लागेर कम्पुचियामा आक्रमण गरेको आरोप पनि लाग्ने गरेको छ । खमेरुज पराजित भएपछि सन् १९७९मा भियतनामको सहयोगमा बनेको सरकारमा उनी परराष्ट्रमन्त्री बनाइएका थिए । सञ्चारमाध्यम र विपक्षीमाथिको नियन्त्रणको आरोप उनी खेपिरहेका छन् ।
बुद्ध धर्मको प्रचार
नेपालमा जन्मिएका भगवान गौतम बुद्धले प्रतिपादन गरेको बुद्धधर्म मान्ने मुलुकका रुपमा नै क्याम्बोडिया र भियतनाम पनि पर्छन् । ती देशमा चिनियाँ लुनार क्यालेण्डरको चौथो महिनाको ८ औं दिनलाई बुद्ध जन्मदिनका रुपमा मनाइने गरिएको छ । क्याम्बोडियामा सो दिन सार्वजनिक विदा दिइन्छ भने भियतनामका पनि कतिपय भूभागमा विदा दिइने गरेको छ । सो दिन भिक्षुलाई दान दिने गरिएको छ । नेपालमा बुद्ध जयन्ती वैशाख पूर्णिमाका दिन मनाइने गरेको छ । सोही दिन बुद्धले ज्ञान प्राप्त गरेको र निधन भएको दिनका रुपमा पनि चिनिन्छ ।
संयुक्त राष्ट्र संघले पनि ‘वेशाक डे’को रुपमा बुद्ध जयन्तीलाई मनाउने गरेको छ । सांस्कृतिक कार्यक्रम, बुद्धको शिक्षाको शिक्षण र नाटक प्रदर्शन गरिन्छ । धार्मिक नेताहरुले सन्देश दिन्छन् । गरिबलाई दान दिने गरिन्छ । सन् १९९९मा संयुक्त राष्ट्र संघले औपचारिक रुपमा यो दिवसलाई मान्यता दिएको हो । २५०० वर्ष पुरानो धर्म भएकोले बुद्ध धर्मलाई विश्वकै पुरानो धर्म मध्येमा लिइने गरिएको छ ।
ताइवान, जापान, बंगलादेश, क्याम्बोडिया, चीन, भारत, इण्डोनेसिया, जापान, मलेशिया, मंगोलिया, म्यान्मार, उत्तर कोरिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, भियतनाम, अष्ट्रेलिया, ब्राजील, क्यानडा र अमेरिकामा समेत बौद्धमार्गीहरु रहेका छन् ।

















प्रतिक्रिया