संघीय गणतन्त्र नेपालको आर्थिक वर्ष ०७६् /७७ को वार्षिक बजेट आज सदनमा प्रस्तुत गरिँदैछ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेट पेस गर्नेछन । नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था अनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो । बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । बजेट लेखनको सम्पूर्ण तयारी सकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । झण्डै १५ खर्ब बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको छ ।
चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आवको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयमुखी बनाउने लक्ष्य राखेको छ । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ ।
चालू आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
नेपालमा पहिलोपटक आजभन्दा ६८ वर्ष पहिले संसदमा बजेट भाषण गरिएको थियो । राणा शासन अन्त्यपछि बनेको नेपाली कांग्रेस सरकारका अर्थमन्त्री सुवर्ण समशेर राणाले उक्त बजेट ल्याएका थिए ।
प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सरकारले ल्याएको नेपालको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो । नेपालको पहिलो बजेट संसदमा प्रस्तुत गरिँदा रेडियो नेपालबाट प्रत्यक्ष प्रशारण भएको इतिहासमा उल्लेख छ ।





















प्रतिक्रिया