विपद व्यवस्थापनको लागि राणा काल वा पञ्चायत कालमा गाउँगाउँमा ‘धर्म भकारी’ खडा गरिएका हुन्थे । कुनै विपद, महामारी वा खडेरी पर्दा सोही ‘धर्म भकारी’ खोलेर जनतालाई खुवाउने काम गरिन्थ्यो ।
२०४६ सालपछि ‘धर्म भकारी’लाई निरन्तरता दिन सकेनौं । खाद्य संस्थान खोल्यौं तर जनतालाई आवश्यक पर्ने खाद्यान्न मौज्दात राख्न सकेनौं । खाद्य संस्थान सत्तारूढ दलका केहि थान नेता तथा कार्यकर्ता व्यवस्थापन गर्ने थलोका रूपमा परिचीत बन्दै गयो ।
वर्तमान परिस्थितिमा ‘लकडाउन’ अझै कतिदिन लम्बिने हो कुनै अत्तोपत्तो छैन् । त्यसका लागि पूर्वतयारी हुन नसक्दा आजको अवस्था भोग्नु परेको छ । जनता कोरोना भाइरसले भन्दा खान नपाउने भाइरसले थलिनुपर्ने अवस्थाको सिर्जना हुँदै छ ।
भूकम्प पछिको नाकाबन्दीले केहि वर्ष अगाडि मात्रै आत्म निर्भर बन्नको लागि पर्याप्त संकेत गरेपनि हामी त्यतापट्टी लाग्दै लागेनौं, नत सरकारले नै त्यसतर्फ कुनै ठोस पहलकदमी लिन सक्यो । आयातित सामानमा भर पर्नु र कमिसनको लागि मात्र काममा अग्रसर हुनु, महामारीको संकेत आइसक्दा पनि तयारी तिर नलाग्नु, समय हुँदा आलटाल गर्दै अप्ठ्यारो समयमा आइसके पछि हतारहतार निर्णय गरि काम गर्न खोज्नु पूर्वीय सामाजिक दर्शनकै विरुद्धको काम हो भन्दा अतिशयोक्ती पक्कै नहोला ।
अहिलेको सत्ताको चरीत्र हेर्दा शक्ति भएपछि जे गर्दा पनि हुन्छ भन्ने जनताले जनताले समेत बुझिसकेका छन् । अन्यथा काठमाडौमा मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुर ‘लकडाउन’को समयमा हजारौं किलोमीटर हिंडेर आफ्नो मूलथलो जाने बाध्यता आउँदैन थियो होला भने अन्तराष्ट्रिय सिमामा आफ्नो देश फर्किन तयार नागरिक सिमामै अलपत्र पर्ने परिस्थिति पक्कै पनि बन्दैन थियो होला ।
देश महामारीको संकटमा परेका बेला सरकारको आलोचना गर्नु वा सरकारप्रति शंका गर्नु राम्रोकाम त होइन तरपनि राज्य कता जाँदै छ, नैतिकता, अनुशासन तथा राज्यको न्युनतम दायित्व पुरा भए कि भएनन् भन्ने प्रश्न उब्जिनु भने पक्कै अन्यथा हुन सक्दैनन् ।
हाम्रो पूर्वीय दर्शन, धर्म, रितिरिवाज बाट मात्रै देश चलेको भएपनि यस्तो महामारीको समयमा कुनै शंका वा उपशंका उब्जिदैन थिए । तैपनि देश यतिखेर कोरोना भाइरस जस्तो विश्वव्यापी स्वास्थ महामारी बाट गुज्रिएको बेला सबै मिलेर समस्या समाधान तर्फ लाग्नुको अर्को विकल्प भने नहोला ।
संयोजक
स्वतन्त्र नागरिक समाज
















प्रतिक्रिया