Logo

अर्थ

अब एक जार पानीको मूल्य रु. ४७, बोतलको रु. १६



काठमाण्डौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल र जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ ।

विभागले काठमाण्डौ उपत्यकाभित्र बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम ४७ रुपैयाँ निर्धारण गरेको हो । उपत्यकाबाहिर भने एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ निर्धारण गरिएको छ ।

संघीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको हो । निर्धारित मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

मूल्य बढी लिएको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारबाही गरिने विभागले जनाएको छ ।

निर्धारित मूल्यभन्दा बढी रकम तिरेर पानी खरिद नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार ११:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।