कोरोनाको पहिलो लहर सकिन नपाउँदै नेपालमा फेरि कोरोनाको दोस्रो लहरले आक्रमण गरेको छ । छिमेकी मुलुक भारतको अवस्था सम्हाल्नै नसिकने अवस्थामा पुगेको सञ्चारमाध्यमबाट हेरिरहेका छौं। समाचार सुन्दा र हेरदा जिउ नै सिरिङ्ग हुन्छ । हातगोडा लल्याक–लुलुक हुन्छन् अनि आँखाबाट आँसु झर्न थाल्छ ।
हाम्रो देशमा पनि अवस्था झन् झन् बिग्रिँदै गइरहेको छ। दिनप्रति दिन संक्रमितको संख्या बढ्दै छ भने मृत्युदर पनि बढ्दो क्रममा छ । यस्तै हो भने हाम्रो देशमा पनि भारतको जस्तै हालत नहोला भन्न सकिन्न। कोरोनाको पहिलो चरणमा पनि युद्द मैदानमा केही नभनी होमिनेमा हामी स्वास्थ्यकर्मीहरु नै हो ।
स्वास्थ्यकर्मीले जोखिम मोलेर भोक, निन्द्रा, परिवार केही नभनी संक्रमितलाई ठिक पार्न निरन्तर खटिनै रहे। फ्रन्टलाइनर स्वास्थ्यकर्मीको अथक प्रयासले कोरोनाको पहिलो चरण लगभग पार गर्न सक्षम भइएको थियो । हामीले हाम्रो बलबुद्दि र विवेकले भ्याएसम्म कोसिस गर्यौं । हाम्रो इमान्दारीता र हामिले गर्नु पर्ने धर्म निभायौँ। तर करोनाको पहिलो चरणको सुरुवाती दिनमा हामि स्वास्थ्यकर्मीका लागि यो गर्छौ त्यो गर्छौ भनेर ठूलो ठूलो भाषण दिने सरकारले महामारीमा खटिने स्वास्थ्यकर्मीका लागि के गर्यो ?
सरकारको प्रतिवद्धता सबै भाषणमा मात्र सीमित रह्यो। न कुनै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाए, न कुनै स्वास्थ्यकर्मीले सरकारबाट पाउने कुनै सुविधा नै पाए । त्यसमा पनि नर्सिंङ कर्मचारीको सबैभन्दा बढी मारमा परे। मलाई नर्सिङ पेशा सबैभन्दा हेलामा परेको पेशा जस्तो लाग्छ। काम भने मरीमरी गर्नु पर्ने अनि पैसा पनि नपाउने, जस पनि नपाउने । कसैले हाम्रो कामको मुल्यांकन पनि नगरिदिने ।
अझ दु:खकाे कुरा त झन् निजी संस्थामा काम गर्ने नर्सको पिडा छुट्टै छ । झन् त्यो अवस्था कसले बुझिदिने हो ? कुनै निजी संस्थाले केही दियो भने त ठिकै हो तर दिएन भने न गुनासो गर्ने ठाउँ छ, न त्यो गुनासो सुनेर समाधान गरिदिने कुनै निकाय नै छ। जति दुस्ख गर्यो, जति मिहेनत गरे पनि आखिरमा हातमा लाग्यो शून्य जस्तै अवस्था छ ।
उपत्यकका अधिकांश अस्पतालमा कोरोनाको बिरामीको उपचारमा बिना जोखिम भत्ता काम गरिरहेका छन्। भत्ता माग्दा कामबाटै निक्लनु परेको अवस्था छ। यसो भन्दै गर्दा हामीले पैसा मात्र मागेको भन्ने बुझ्नुहुन्छ भने त्यो गलत हुने छ। हाम्रो बा-आम ले त्यति धेरै खर्च गरेर आफ्नो सन्तानको भविष्य पक्कै पनि राम्रो हुन्छ भनेर यति धेरै मेहेनेत गर्नु भएको होला ! यसरी हामीले दिन रात सेवा गर्दै गर्दा, भोक निन्द्रा मार्दै गर्दा, दिनभर पीपीई लगाएर पानी प्यास मार्दै गर्दा बुझ्ने कस्ले ? देख्ने कस्ले ? मुल्यांकन गर्ने कस्ले ? अझ भन्ने हो भने दिसापिसाब लाग्दा ट्वाइलेटसम्म जान पाउदैनौँ।
सरकारले यो समयमा प्रोत्साहन मात्र गरिदिए पनि स्वास्थ्यकर्मी दिलोज्यान दिएर खटिन तयार छन्। आफ्ना बा, आमा, श्रीमान्, श्रीमती, छोराछोरी छोडेर युद्धमा होमिन तयार छन् र होमिरहेका छन्। आफू भ्रष्टाचारमा लिप्त सरकारलाई स्वास्थ्यकर्मीको दुस्ख पिडा कहाँ महसुस होला र ? कहिलेकाही लाग्छ हाम्रो देशमा हाम्रो लागि नि सरकार छ र ?
यस्तो अवस्थामा सरकारले अहिले कोरोनाको दोस्रो लहरको लागि तयार हुनु, कर्मचारीलाई छुट्टी नदिनु भनेर कसरी भन्न सकेको होला ? सरकारको यस्तो हाँस्यास्पद कुरा सुनेर कहिलेकाँही खित्का छोडेर हास्न मन लाग्छ। हुन् त जनताको सरकार भएको भए पो लाज, घिन हुनु। हुँदा हुँदा सरकारले त अहिले नागरिकको मौलिक हकका रुपमा रहेको स्वास्थ्य उपचार पनि दिन सक्दैनौं भने हात उठाएको अवस्था छ।
कोरोनाको लहर बढेसँगै सबै अस्पतालमा नर्सिङ कर्मचारीको आवश्यकता पर्दछ । सबै अस्पतालले यति जना नर्स चाहियो भनेर विज्ञापन निकाल्छन्। बेरोजगार नर्स दिदिबिहिनीहरुले आवेदन पनि दिन्छन्। यस्तो समयमा कामको अवसर त मिल्छ तर कि त न्यून तलबमा कि त आन्तरिक सहमतिमा कति महिने करार मा हो । नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छो बाउको अनुहार भने जस्तो छ। अस्पताललाई पैसा कमाउनु छ। थोरै तलबमा काम लगाएर धेरै आम्दानी गर्नु छ ।
नर्सलाई जागिर चाहिएको छ किनकी बेरोजगार बस्नु भन्दा थोरै तलब लिएर जोखिम मोल्न तयार छन् । कोरोनाको पहिलो चरणमा जस्तै आफ्नो स्वार्थ पुरा भएपछि भकाभक नर्सिङ कर्मचारी निकालिन्छन्। सोझो अर्थमा भन्नु पर्दा ‘युज एण्ड थ्रो’ यसको बारेमा बोलिदिने हाम्रो लागि कुनै निकाय छैनन् । न सरकार छ, न हाम्रो भनिने कुनै संघ सस्था ले नै बोल्छ। यहाँ नर्सको लागि भनेर खोलिएका संस्थाहरु त झन् कहाँ के गरिरहेका छन् अत्तोपत्तो नै छैन ।
यहाँ कति नर्स श्रम शोषणमा परेका छन्, कुन अस्पतालले कति तलब दिएको छ, कसले भत्ता दिएको छ, को नर्स साँच्चै अप्ठ्यारोमा परेका छन् भन्ने कुराको बारेमा कहिले चासो दिएको जस्तो लागेन । खाली दलको फेरो समातेर कुदेको मात्र देखिन्छ। नर्सहरु आफैँ काम गरे गर्छन् मरे मर्छन् हामीलाई के को चासो भन्दै कानमा तेल हालेर बसेका छन् । यहाँ अरु श्रम शोषणमा परेको कसलाई के मतलब छ र !
सबैको श्रमको उचित मुल्यांकन होस् । चाहे स्वास्थ्यकर्मी हुन् वा अरु कुनै पेशामा लागेकाहरु हुन्। कोही पनि श्रम शोषणमा नपरुन् । सबैलाई श्रम दिवसको शुभकामना । सतर्क बनौं । आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल गरौं ।















प्रतिक्रिया