Logo

कोरोना संक्रमित पत्रकारको सहयोगका लागि प्रेस युनियनद्वारा १० लाख रुपैयाँको राहत कोष स्थापना



विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको चपेटामा परेर संक्रमित भएका पत्रकारहरुको उपचारका लागि सहयोग गर्न नेपाल प्रेस युनियनले १० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने घोषणा गरेको छ । 

नेपाल प्रेस युनियन ३१ औं वर्षमा प्रवेशको अवसरमा ओयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कोरोना संक्रमित पत्रकारको उपचारका लागि सहयोग गर्ने उद्देश्यले १० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने घोषणा गरेका हुन् । 

उनले कोरोना संक्रमणको यस विषम परिस्थितिमा पनि फ्रन्टलाइनमा रहेका नागरिकलाई सूचना, समाचारहरु उपलब्ध गराउने सामाजिक दायित्व बहन गर्नेक्रममा संक्रमित भएका पत्रकारहरुको उपचारमा कुनै आर्थिक अभाव हुन नदिन यो राहत कोषको स्थापना गरिएको जानकारी दिएका हुन् । 

उनले फ्रन्टलाइनमा रहेर रिपोर्टिङ गर्ने पत्रकारहरुलाई सुरक्षाका मापदण्डहरु पालना गर्नसमेत आग्रह गरेका छन् । उनले कोरोना संक्रमणको अवस्थामा पनि फ्रन्टलाइनमा रहेर काम गरिरहेका पत्रकारहरुका लागि कुनै पनि राहत तथा सहयोगको कुनै योजना नल्याएको समेत आरोप लगाएका छन् । उनले सरकारले पत्रकारको हकहित र स्वतन्त्रता खोस्ने काम गरेकोसमेत बताएका छन् । 

यस महामारीको चपेटामा १५ जना पत्रकारको मृत्यु भइसकेको छ भने करिब ७०० जना पत्रकार संक्रमित भएका छन् । उनले पत्रकारहरुको मृत्युभएको प्रति दुःख व्यक्त गरेका छन् भने संक्रमित भइ उपचारमा रहेका पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १० : ४६ बजे