प्रदेश नम्बर २ को सत्ता समीकरणबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेससँगको संवादलाई तीव्रता दिएका छन् । यसैक्रममा उनी शुक्रबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी निवास पुगेका छन् ।
शुक्रबार मध्य बानेश्वरस्थित निधि निवासमा विमलेन्द्र र उपेन्द्रबीच करिब दुई घण्टा ‘वान टु वान’ छलफल भएको हो । महन्थ ठाकुर समूह केन्द्र सरकारमा सहभागी हुने कुरा चलिरहेका बेला प्रदेश २ को सरकार जोगाउन उपेन्द्र यादवले कांग्रेसको साथ खोजेका हुन् ।
केन्द्रमा कांग्रेसको गठबन्धनमा सामेल भएका यादवले बिहीबार सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । यादवले सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । उनले प्रदेश २ मा यादव निकटका लालबाबु राउतको सरकार जोगाउनका लागि कांग्रेसको साथ खोजेका हुन् ।
प्रदेशमा कुल १०७ सांसद रहेकोमा नेकपा माओवादी केन्द्रले ३ जनालाई कारबाही गरेपछि अहिले सांसदको संख्या १०४ छ । सत्तारुढ जसपासँग ५५ सांसद छन् । जसमा ३० तत्कालीन समाजवादी र २५ जना तत्कालीन राजपा पक्षका हुन् ।
यसैगरी नेकपा एमालेको कुल २१ सांसदमध्ये १३ जना माधव नेपाल र ८ जना केपी ओली पक्षमा छन् । नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।




















प्रतिक्रिया