Logo

सूचना/प्रविधि

युट्युबलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा जोड



प्रेस काउन्सिल नेपालले युट्युबलगायत सामाजिक सञ्‍जाल र अनलाइन मिडियालाई व्यवस्थित गर्ने विषयमा अन्तर्क्रिया गरेको छ ।  कसरी व्यवस्थित गर्ने’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्क्रियामा सरोकारवालाहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् । 

अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल सबै पत्रकारको साझा संस्था भएकाले हरेक पत्रकार र मिडियाको स्वामित्व हुनुपर्ने बताएका छन् । उनले सोसल मिडियाबाट आउने अडियो-भिडियो सामग्रीहरूमा पत्रकारिता भए-नभएकोबारे बुझ्‍न छलफल राखिएको बताए । 

काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीले पत्रकार महासंघ र काउन्सिल मिलेर जारी गरेको आचारसंहिताभित्र रहेर गरिने पत्रकारिताबाटै ‘स्वच्छ, स्वस्थ, स्वतन्त्र मर्यादीत पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ निर्माण हुने बताएका छन् । उनले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषणबाट मात्रै पत्रकारिता गर्नुपर्ने भन्दै सम्पादन बिना राखिएका सामग्री पत्रकारिताभित्र नपर्ने उल्लेख गर्नुपर्ने बताएका छन् । 

छाडा हुँदै ‘युट्युबर’, विज्ञ भन्छन् – कानुन बनाएर दर्ता र नियमन गर्नुपर्छ

बोर्ड सदस्य दीपक पाण्डेले पत्रकार र मिडिया के हो भन्‍ने कुरा बुझ्‍न आवश्यक भएको भन्दै  सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिँदै आएका अभ्यासको निर्मम समीक्षा गर्ने समय आएको बताए । मिडिया सञ्‍चालन गर्दा धरौटी राख्नुपर्ने व्यवस्था हुनुपर्ने, भावनाको व्यापार पत्रकारिताभित्र नपर्ने भन्दै स्वतन्त्रताको उपभोगसँगै कर्तव्य पालना गर्नुपर्ने उनको भनाइ थियो । 

बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले काउन्सिलले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ पत्रकारिताको विकासको लागि मिडियालाई नियमन र निर्देशन गर्ने गरेको बताए । पत्रकार भुवन केसीले सञ्‍चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताए । उनले  सोसल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्‍न खोजेको हो होइन बुझ्नु पर्ने बताए ।

अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले  सोसल मिडियालाई जिम्मेवारी बोध गराउनुपर्ने, युट्युबलाई संगठित गर्नुपर्ने, चौंथो पुस्ताको पत्रकारितालाई  सशक्त बनाउनुपर्ने  लगायतका धारणा राखे । 

 पत्रकार पवन पौडेलले सुन्दा उस्तै लाग्ने तर हिज्जे फरक हुने अनलाइनका नामका खोलिएका वेबसाइटले थप समस्या निम्ताउनेतर्फ सजग हुनुपर्ने बताए । पत्रकार एवं सूचना प्रविधि विज्ञ विनोद भट्टराईले काउन्सिलले मिडियालाई गर्ने कारबाही सार्वजनिक गर्नुपर्ने बताए । कपुरबोट डटकमका सञ्चालक सन्तोष देउजाले युट्युबबाट हुने आम्दानीलाई वैधानिक गराएर करको दायरामा ल्याउनुपर्ने बताए । 

अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा  आउने अडियो-भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गरे । अनलाइन टिभी पत्रकार सङ्का वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले कारबाहीमा परेका मिडियाको नाम सार्वजनिक गर्न नहुने धारणा राखे । कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने चक्रपथ डटकमका सम्पादक कविता अधिकारीको भनाइ थियो । 

 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १९:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।