Logo

राजनीति

मन्त्रीको चर्चामा रहेका विनोद चौधरी पार्टीको पदाधिकारीमा उम्मेद्वारी दिने तयारीमा



नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वको होडबाजी पेचिलो बन्दै गएको छ । नेतृत्वसँगै अन्य पदाधिकारीको पनि चर्चा भइरहेको छ । एमाले हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका विनोद चौधरीले पनि कांग्रेसको पदाधिकारीमा लड्‍ने बताएका छन् । 

अनलाइनपानासँगको कुराकानीमा चौधरीले आफू पार्टीको आसन्‍न महाधिवेशनमा पदाधिकारीमा उम्मेद्वारी दिने बताएका हुन् । उनले भने, “१४ औं महाधिवेशनमा म पनि पदाधिकारीमा उम्मेद्वारी दिन्छु ।” उनले कुन पदमा उम्मेद्वारी दिने भन्‍ने विषयमा भने केही खुलाएनन् । 

यसअघि असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै अर्थमन्त्री बन्‍ने चर्चा चलेको थियो । अर्थ मन्त्रालय नेकपा माओवादी केन्द्रको भागमा परेपछि उनको उद्योग अथवा परराष्ट्र मन्त्रालय पाउने चर्चा भइरहेको छ । 

उनले आफू राजनीतिबाट जति टाढा रहन चाहे पनि आफूलाई राजनीतिले कहिल्यै नछोडेको बताएका छन् । उनले भने, “कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापादेखि नै म राजनीतिमा जोडिएको हुँ । हिजो एमाले पार्टीबाट म संविधान सभा सदस्य बनेको हुँ । मलाई एमालेले खोजेर संविधान सभा सदस्य बनाएको हो । तर, मैले एमालेको सदस्यता लिएको थिएन ।” 

उनले अब आगामी दिनमा नेपाली कांग्रेसको प्लेटफर्ममा बसेर विश्वले अंगालेका सिद्धान्तहरुलाई अंगिकार गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले भने, “मैले नेपाली कांग्रेसमा निरन्तर संलग्‍नता बढाइरहेको छु । राजनीतिमा समर्थन र विरोध हुनु स्वभाविक र सकारात्मक प्रक्रिया हो । पार्टीभित्र प्रतिस्पर्धा हुनु राम्रो कुरा हो ।” 

उनले नेपाली कांग्रेसमा आफू आएपछि माया गरेको र स्वीकार गरेको पाएको बताएका छन् । उनले भने, “म महाधिवेशन र पार्टीमा सक्रियरुपमा काम गर्नुपर्छ । नत्र अर्थ छैन । पार्टीभित्र लोकतन्त्रका लागि ठूलो योगदान गर्ने राजनीतिकर्मीहरु र उद्योग-व्यवसाय क्षेत्रबाट अघि बढ्ने हामीजस्ता व्यक्तिहरु अघि बढ्नुपर्छ भन्‍ने लाग्छ ।” 

उनले आफूले गरेका हरेक कामहरुमा केही कठिनाई भए पनि असफल नभएको दाबी गर्दै राजनीतिमा पनि सफल हुने विश्वाससमेत व्यक्त गरेका छन् । उनले भने, “प्रधानमन्त्री बन्‍नका लागि मात्रै राजनीति गर्नुहुन्छ भने काम गर्दै जाँदा प्रधानमन्त्री बनिन्छ भन्‍ने बाटोतर्फ अघि बढिन्छ, त्यो निकै राम्रो कुरा हो ।”  

अर्बपति सूचीको २१४१ नम्बरमा परेका चौधरी नेपालको एक धनाढ्य व्यक्ति हुन् । फोर्ब्सका अनुसार अप्रिल ६ सम्म उनको सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर छ । सीजी कर्प ग्लोबलका प्रमुख चौधरीको धेरै सम्पत्ति नबिल बैंक र सीजी फुड (वाइवाइ चाउचाउ)मा रहेको फोर्ब्सले जनाएको छ । 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १८:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।