Logo

राजनीति

अनेरास्ववियु त राष्ट्रका ‘सञ्चालक’हरू उत्पादन गर्ने ‘नर्सरी’ हो तर लैङ्गिक विभेद चाहिँ किन ?

किन आज पनि संगठन भित्र नेतृत्वमा महिलाको सहभागिता कम रहेको छ ?



काठमाडाैं । अनेरास्ववियुले नेपाली आन्दोलनहरूको नेतृत्व गरेको गर्बिलो इतिहास हामीसँग छ । हाम्रो हिजोको आन्दोलन राजनीतिक अतिवाद र राणा शासनको विरूद्व र सामाजिक रूपान्तरणको लागि थियो । ती आन्दोलनलाई संस्थागत गर्दै हरेक आन्दोलनको कुशल नेतृत्व अनेरास्ववियुले नै गर्यो । अनेरास्ववियु लाखौं विद्यार्थीहरूको वैचारिक मन्थनको थलो हो ।

अनेरास्ववियुले नेपाली जनताको वैचारिक दृष्टिकोण र नेतृत्वकर्ताको काम गर्यो । त्यति मात्रै हैन, विचारलाई संस्थागत गराउन हरेक आन्दोलनको अग्र भागमा उभिँदै सामाजिक आन्दोलनको बिगुल फुक्दै सडक तताउने काम गर्यो। यतिसम्म कि सडकबाटै संसद हल्लाउन सक्ने तागत सिर्जना अनेरास्ववियुले गर्यो । जब देशमा निरङकुशताले जनताको घाँटी अठ्याउँथ्यो, अनेरास्ववियु नागरिककाे हक, अधिकारकाे रक्षा गर्न ‘सडकको बाघ’ भएर प्रतिकार गर्थ्यो । राष्ट्रियताको सवाल होस् वा जनजिविकाको, अनेरास्ववियु नेपाली राजनीतिमा एउटा महत्त्वपूर्ण शक्तिको रूपमा परिचित छ ।

राजनीतिक आन्दोलनमा मात्रै होइन, अनेरास्ववियुले नेपाली समाजको हरेक प्रकृतिका आन्दोलनलाई स्थापित गर्ने वैचारिक नेतृत्वकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । आज नेपालको राजनीतिक आन्दोलन खुल्ला अवस्थामा आइपुगेको छ । बितेका समयमा नेपाली जनताले महसुस गरेको ‘जन्जिर’लाई आज नेपाली आन्दोलनले सदाको लागि तोडिदिएको छ । नेपाली जनताहरु शक्ति सम्पन्न भएका छन् । देशको सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ । आन्दोलनको कठिन चरण पार भएको छ। अब कसरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्ने जिम्मेवारी अनेरास्ववियुका नेतृत्वकर्ताकाे  काँधमा थपिएको छ । त्यसका लागि हामीले समतामूलक समाजको निर्माणकाे परिकल्पना गर्दै कुनै पनि प्रकृतिको विभेद हटाउन तयार हनुपर्छ । समान अवसर हाँसिल गर्न सबैलाई क्षमतावान बनाउने प्रयत्न गर्नुपर्छ । र, समाजका हरेक क्षेत्रमा कुनै प्रकारको विभेद नहोस्, समाजका हरेक वर्ग, क्षेत्र, लिङ्ग, धर्म र जातिहरूले यो देश मेरो हो र मैले पनि अरू जतिकै समान अधिकार पाउनु पर्छ, सबैको अधिकार बराबर छ भन्ने महसुस गर्न पाउन अनेरास्ववियुले अग्र माेर्चामा रहेर काम गर्नैपर्छ।

यहाँ मैले उठाउन खाेजेका विषय अलि फरक छ । हामीबीच अन्य प्रकृतिका विभेद त त्यति धेरै विकराल नहोला तर आज पनि लैङ्गिक विभेद हाम्रो समाजमा जरा गाडेर बसेको छ । यसलाई निमिट्यान्न पार्न सकनौं भने अझै तिसौं र चालिसौं वर्ष पछिसम्म पनि महिलाले अवसर पाउन कोटा वा आरक्षणको आवश्यकता पर्दछ । आजको विश्वमा महिलाहरूले आफूलाई सबै तबरले बराबरी रूपमा सक्षम छौं भनेर सावित गरिसकेका छन् ।

विश्वभरिका महिलाहरूले समाजका विभिन्न क्षेत्रमा आफ्ना कौशलता देखाइसकेका छन । यस्तो अवस्थामा पनि महिला समानताको कुरा उठान गर्नु पर्ने विडम्बना हामी माझ छ । त्यो पनि अनेरास्ववियुभित्र, जुन संगठनले समाजलाई सदैव वैचारिक नेतृत्व प्रदान गर्यो । वैचारिक मार्ग निर्देशन गर्यो । जसले असमानता, अन्याय र सामाजिक विभेद विरूद्व आवाज उठायो ।

म यहाँनेर प्रश्न उठाउन चाहान्छु, ‘के अनेरास्ववियुमा आवद्व महिलाहरू तुलनात्मक रूपमा पुरूषभन्दा कमजोर नै हुन् त ?, हुन त हामी देख्न सक्छौं, अहिलेका अनेरास्ववियुका अध्यक्ष भन्दा अगाडि सुनिता बराल, नविना लामा र रामकुमारी झाँकीले अनेरास्ववियु हाँकेका हुन । उहाँहरुले अहिले राष्ट्रिय राजनीतिकमा नेतृत्व लिएर अगाडि बढिरहनुभएकाे छ । उहाँहरू तीनैजना महिला हुनुहुन्छ । हाल अनेरास्ववियुमा उपाध्यक्ष,  सचिव, स्थायी कमिटी केन्द्रीय सदस्य र आयोग गरी तोकिएको प्रतिशतको अनुपातमा मात्रै संगठनको केन्द्रीय कमिटिमा संगठित महिला हुनुहुन्छ । निर्वाचनमा सहभागी हुँदा पनि छिटपुट महिलाबाहेक बाँकी सबै महिलाहरू महिला कोटा अन्तर्गत महिलालाई नै हराएर केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्नु भएको तथ्य हाम्रो सामु छ ।

अनेरास्ववियुभित्र महिला सहभागिता बढाउन अग्रज महिला ‘कमरेड’हरूले विगतका सम्मेलनमा ‘३५ प्रतिशत महिला सहभागिता’का कुरा उठाएको सुन्दै आएका थियौं । साथै, संगठनले अनेरास्ववियुका सबै तह वा देशैभरिका सबै कमिटीका पदाधिकारीमा कम्तिमा दुई महिलाको कुरालाई जोडदार उठाएको थियो। अनेरास्ववियुमा साेही तथ्य बमोजिम नीतिगत सहमति पनि रहेको कुरा सुन्दै आएको थियौं । उक्त कुरा कार्यान्वयन गराउन प्राविधिक रूपमा कठिनाई भएको र लागू नगरेको तथ्यांक पायौं । देशैभरिका जिल्ला कमिटीको आकँडा हेर्दा दुईवटा जिल्लामा मात्रै महिला अध्यक्ष रहेको पाइयो । प्रायः सबै जिल्ला वा क्याम्पसमा महिलालाई उपाध्यक्ष, उपसचिव वा कोषाध्यक्ष जस्ता सहायक पदहरूमा राखिएको पाइयो । त्यो पनि प्रतिनिधित्व गर्न, सहभागिता देखाउनको निमित्त ।

अनेरास्ववियु जस्तो बौद्विक संगठनमा आवद्व हुनुहुने ‘कमरेड’हरूको बौद्विकता आज पनि किन फराकिलो बन्न सकिरहेको छैन ? म प्रश्न गर्न चाहन्छु, किन आज पनि संगठन भित्र नेतृत्वमा महिलाको सहभागिता कम रहेको छ ?, अनेरास्ववियु जस्तो क्रान्तिकारी, बौद्विक र बैचारिक संगठनमा त लैङ्गिक विभेद र पुरूषवादी चिन्तन हाबी भएको देखिन्छ भने समाजका अन्य क्षेत्रमा अवस्था कस्ताे होला ? यस अवस्थामा हामी अनुमान मात्रै लगाउन सक्छौ, जुन तितो तर यथार्थ हुनेछ। मैले अनेरास्ववियुमा संगठित भएदेखि नै संगठनभित्र महिला नेतृत्व विकासको सवाल उठाउदै आइरहेकी छु। अनेरास्ववियुभित्रको यो पुस्ताले पनि यस सवालमा आवाज नउठाए अबको दशकौं वर्षसम्म पनि संगठनभित्र लैङ्गिक असमानता रहिरहने छ।

अनेरास्ववियुलाई त राष्ट्रका ‘सञ्चालक’हरू उत्पादन गर्ने ‘नर्सरी’ मानिन्छ। तसर्थ, लैङ्गिक विभेदहीन समाजको निर्माण गर्नु अनेरास्ववियुको दायित्व हैन र ? त्यसैले संगठनको सबैभन्दा तल्लो तहबाट नै तपाईँ हामी सबैले महिला सहभागिताको बिषयलाई खुल्ला हृदयबाट उठाउने प्रयास थाले मात्र वास्तविक अर्थमा विभेदहीन, समतामूलक तथा समृद्ध समाजको निमार्ण सार्थक हुनेछ । अनि मात्रै परिवर्तन सम्भव हुनेछ । तब मात्रै हामी क्रान्तिकारी वा परिवर्तनकारी साबित हुनेछौं ।

लेखक अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा महिला विभाग प्रमुख हुन ।

#अनेरास्ववियु

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार २०:५१   :  बजे

420
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।