Logo

प्रमुख समाचार

ओलीलाई प्रधानमन्त्री बनाउन दुई तिहाइबढी सांसदको लिखित समर्थन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचौँ पटकमा संसदबाट विश्वासको मत गुमाएका छन् । सरकारमा सहभागी दल एमालेले असार १९ गते समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

प्रचण्डले संविधानको धारा १००(२) बमोजिम शुक्रबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । संसदमा कुल उपस्थित सांसदमध्ये विश्वासको मतको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीका गरी ६३ जना सांसदले मत दिएका थिए । यो कुल खसेको मतमध्ये २४.४१ प्रतिशत मत हो ।

विश्वासको मतको विपक्षमा उपस्थित २५८ मध्ये १९४ जनाले मतदान गरे । तटस्थमा जम्मा १ मत परेको थियो । प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै प्रचण्डको सत्ता यात्रा टुङ्गिएको छ ।

असार १७ गते मध्यराति कांग्रेस र एमालेबिच संविधान संशोधनसहित आलोपालो सरकार बनाउने सहमति भएपछि सत्ताको खेलबाट प्रचण्ड बाहिरिएका हुन् ।

२०७९ साल पुस ११ गते एमालेसहित ६ दलको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री भएका उनले साढे १८ महिनामा पाँचौँपटक विश्वासको मत लिएर रेकर्ड राखेका छन् । यस अवधिमा प्रचण्डले सबैभन्दा ठुलो दल कांग्रेससँग एक पटक र दोस्रो ठुलो दल एमालेसँग दुई पटक सत्ता सहकार्य गरेका थिए ।

पहिलो पटक पुस २६ गते विश्वासको मत लिँदा उनले संसदका कुल उपस्थित सांसदमध्ये ९९.२५ प्रतिशत मत पाएर रेकर्ड राखेका थिए । पाँचौँ पटकमा आइपुग्दा ७५.५२ प्रतिशत मत गुमाएर सत्ताबाट बर्हिगमन भएका छन् ।

यस्तै सत्ता साझेदारी गर्न लागेका संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष समावेदन दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी छ ।

नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बेला कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर समेत गराएर धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने तयारी भएको हो ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १७:५७   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।