Logo

प्रमुख समाचार

राप्रपा संगठन विभाग प्रमुखबाट किन हटाइए धवलशम्शेर ?



काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको पदीय जिम्मेवारीमा महत्वपूर्ण हेरफेर गरेका छन् । महामन्त्री डा. धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट हटाइएको छ । राणाले पार्टीभित्र ‘संस्थापनविराेधि धार’ को नेतृत्व गर्दै आएका छन् । उनी राप्रपाको भावी अध्यक्षका एक आकांक्षी पनि हुन् ।

पछिल्लो समय विभिन्न सवालहरुलाई लिएर पार्टी अध्यक्ष लिङ्देनसित उनको मतान्तर बढिरहेको छ । राणाकै सक्रियतामा ‘संस्थापनविरोधी गुट’ का बैठकहरु हुने गरेका छन् । संगठन विभाग प्रमुखले नै अध्यक्षलाई काउन्टर दिने खालका समानान्तर गतिविधि बढाएपछि सो जिम्मेवारीबाट मुक्त गरिएको राप्रपा स्रोतले बतायो ।

त्यसो त डा. राणा राप्रपाको आन्दोलन परिचालन कमिटीका संयोजक पनि हुन् । दोहोरो जिम्मेवारी कसैलाई पनि नदिने नीतिअनुरुप उनलाई संगठन विभाग प्रमुखबाट झिकिएको संस्थापन पक्षको दाबी छ । ‘उहाँले सडक आन्दोलनको पनि नेतृत्व गर्नुपर्ने भएकाले संगठन विभाग प्रमुखबाट हटाइएको हो’, अध्यक्ष लिङ्देननिकट स्रोतले भन्यो ।

अध्यक्ष राणा पक्षधरहरुले भने यसलाई ‘कारबाही’ का रुपमा अर्थ्याएका छन् । उनीनिकट एक नेताले भने, ‘आफूलाई भविष्यमा अप्ठेरो पार्न सक्ने भएकाले धवल शम्शेरजीलाई कमजोर पार्न खोजिएको हो । अध्यक्षले साँघुरो सोच लिएर पूर्वाग्रहीरुपमा कदम चाल्नुभयो ।’

राणाको पक्षमा अहिले डा. लोहनीसहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्यसम्पादन समिति सदस्य ऋषिबाबु परियार, विक्रम थापालगायतका नेताहरु छन् । आफ्नै राजनीतिक लिगेसी र बलियाे जनाधार पनि भएकाले राणा लिङदेनसँग नगल्ने उनीनिकट नेताहरूकमे दावी छ ।

राणाबाट खोसिएको संगठन विभागको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिइएको छ । लिङदेनका विश्वासपात्र उनी यसअघि राजनीतिक विभाग प्रमुख थिए ।

राजनीतिक विभागमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ल्याइएको छ, जुन अर्को महत्वपूर्ण निर्णय हो । स्रोतका अनुसार पछिल्लो समय अध्यक्ष लिङदेनलाई वरिष्ठ उपाध्यक्ष मिश्रले बलियो साथ दिइरहेका छन् । उनलाई राजनीतिक विभागको नेतृत्व दिइनु यसैको नतिजा भएको स्रोत बताउँछ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार २१:३५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।