Logo

गण्डकी प्रदेश

गण्डकीमा घरेलु मदिरा उत्पादनको कानुनी बाटो खुल्यो



पोखरा । गण्डकी प्रदेशमा घरेलु मुदिरा उत्पादनको कानुनी बाटो खुलेको छ । संसद्बाट पारित भएको गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐनको संशोधन विधेयकले घरेलु मदिरा उत्पादनलाई सहजीकरण गरेको हो ।

२०७५ सालमा यो ऐन बनेको थियो । सरकारले ऐनमा संशोधन गरेको हो । संशोधन विधेयकमा स्थानीय कच्चा पदार्थमा आधारित घरेलु वा रैथाने मदिरा उत्पादन गर्ने उद्योग दर्ता गर्न सकिने गरी नयाँ प्रावधान ल्याएको छ ।

सांसदहरूले यसलाई सकारात्मक कदम भनेका छन् । सांसद देवका पहारीले ऐनको संशोधनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने बताइन् ।

‘स्थानीय कच्चा पदार्थमा आधारित घरेलु वा स्थानीय वा रैथाने मदिरा उत्पादन गर्ने उद्योग दर्ता गर्न यस उपदफाले बाधा पुर्‍याएको मानिने छैन भन्ने बुँदा अत्यन्त सकारात्मक छ,’ उनले भनिन् । घरेलु मदिरासम्बन्धी छुट्टै विधेयक संसद्मा विचाराधीन छ । सोही विधेयकलाई सहयोग पुग्ने गरी औद्योगिक व्यवसाय ऐन संशोधन गरिएको हो ।

मन्त्री विन्दुकुमार थापाले घरेलु मदिरा उत्पादन गर्ने उद्योग विधेयकमा ल्याइएको र यसले प्रदेशको राजस्व बढ्ने दाबी गरे । ‘स्थानीय कच्चा पदार्थमा आधारित घरेलु मदिरा उद्योग दर्ता गर्न सक्ने प्रावधान यो संशोधनमा ल्याइएको छ,’ उनले भने, ‘यसले प्रदेशको राजस्व, आयआर्जन र रोजगारीमा समेतसहयोग गर्ने अपेक्षा लिएका छौँ ।’

विधेयकले कच्चा पदार्थ प्रयोग गरेर घरेलु तथा रैथाने मदिरा उत्पादन गर्ने उद्योगलाई कानुनी रूपमा दर्ता गर्न बाटो खोलेको छ । यसलाई प्रदेशको राजस्व, आयआर्जन र रोजगारी बढाउने एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । संसद्मा विचाराधीन रहेको घरेलु मदिरासम्बन्धी विधेयक यही अधिवेसनबाट पारित गर्ने संसदको तयारी छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार २०:३४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।