Logo

प्रमुख समाचार

महालक्ष्मी बैंकसँगको सहकार्यमा रमेश गुप्ता मेमोरियल ट्रस्टद्वारा विद्युतीय आईसीयू बेड हस्तान्तरण



 

बाल क्यान्सर उपचार सेवाको पहुँच र गुणस्तर सुदृढीकरण गर्ने उद्देश्यसहित रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड प्रदान गरेको छ।

आईसीयू उपचार क्षमतालाई १५ बेडसम्म विस्तार गर्न सहयोग गर्ने यो पहललाई संस्थागत स्वास्थ्य पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

ट्रस्टका प्रतिनिधिहरूका अनुसार, विद्युतीय आईसीयू बेड उपलब्धताले गम्भीर अवस्थामा रहेका बाल क्यान्सर बिरामीको उपचार प्रक्रियालाई सहज बनाउनुका साथै चिकित्सक टोलीको क्लिनिकल व्यवस्थापन क्षमता पनि बढाउनेछ।

यसले आईसीयू भेन्टिलेशन, मोनिटरिङ र आपत्कालीन उपचार प्रोटोकललाई अझ व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

रमेश गुप्ता मेमोरियल ट्रस्टले वल्र्ड चाइल्ड क्यान्सरसँगको सहकार्यमार्फत नेपालका सातै प्रदेशमा सञ्चालित साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता विकास तथा प्राविधिक सहयोग गर्दै आएको छ।

विकेन्द्रीकरण गरिएको उपचार प्रणालीमार्फत अब बालबालिकाले राजधानीमा निर्भर हुनुपर्ने आवश्यकता घट्ने ट्रस्टको मूल्यांकन छ। यसले उपचारका लागि लामो दूरीको यात्रा, आर्थिक बोझ र मानसिक दवाव कम गर्न ठोस सहयोग गर्ने विश्वास राखिएको छ।

ट्रस्टले बाल क्यान्सर हेरचाहका क्षेत्रमा ३६०–डिग्री दृष्टिकोणस्वरूप स्वास्थ्यकर्मी तालिम, जनचेतना अभिवृद्धि, मनोसामाजिक सहायता तथा परिवारलाई आवश्यक आर्थिक समर्थनजस्ता सेवामा निरन्तर सक्रियता देखाउँदै आएको छ।

गुणस्तरीय उपचार, समयमै पहुँच र जीवनरक्षात्मक हस्तक्षेप सबै बालकका लागि समान रूपमा सुनिश्चित गर्नु मुख्य लक्ष्य रहेको ट्रस्टले जनाएको छ।

महालक्ष्मी डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा लगानी र सहकार्यलाई निरन्तरता दिने बताएको छ। बाल क्यान्सर उपचार सुदृढीकरणमा गरिएको संयुक्त सहयोगले राष्ट्रिय स्वास्थ्य संरचनामा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार २२:१४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।