Logo

अर्थ

अपर तामाकोशीकाे खुद नाफा ९२ करोड ५९ लाख, विद्युत् बिक्री आम्दानी साढे १० अर्बमाथि



काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ९२ करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब ६८ करोड रुपैयाँ घाटा ब्यहोरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी घाटाको अवस्थाबाट नाफामा भएको हो ।

कम्पनीले विद्युत बिक्रीबाट १० अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ६ अर्ब ९२ करोड रहेको थियो ।

यसरी एक वर्षमा विद्युत् बिक्री आम्दानी मात्रै ३ अर्ब ७४ करोड रुपैयाँ अर्थात् करिब ५४ प्रतिशतले बढेको छ । जसले साढे ३ अर्बभन्दा बढीको नोक्सानीबाट कम्पनीलाई नाफामा पुर्याएको हो ।

आम्दानी बढेसँगै सञ्चालन नाफामा पनि ठूलो सुधार आएको छ। सञ्चालन नाफा अघिल्लो वर्षको १ अर्ब ९१ करोड रुपैयाँबाट बढेर ६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अर्थात् सञ्चालन नाफा करिब २१८ प्रतिशतले बढेको हो ।

आर्थिक वर्षमा कम्पनीको वित्तीय लागत ५ अर्ब ६३ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षमा वित्तीय लागत घटेर ५ अर्ब १५ करोड रुपैयाँमा आएको छ । कर्जाको ब्याजदर घट्दा कम्पनीलाई करिब ४८ करोड रुपैयाँको ब्याज/वित्तीय लागतमा राहत दिएको छ । जसले नाफा बढाउन थप योगदान दिएको हो ।

त्यस्तै, प्रशासनिक तथा परियोजना खर्च पनि ९६ करोड ८८ लाखबाट घटेर ६३ करोड ५० लाख रुपैयाँमा आएको छ । विदेशी विनिमयतर्फको घाटा पनि अघिल्लो वर्षको करिब २४ करोड ४९ लाखबाट घटेर ७ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ ।
सुधारका कारण आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ६८ करोड रुपैयाँ घाटामा रहेको कम्पनी आर्थिक वर्ष २०८२/८३ मा ९२ करोड ५९ लाख रुपैयाँ नाफामा फर्किएको हो ।

असार मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋण मात्रै ६७ अर्ब ९ करोड रुपैयाँभन्दा बढी छ। त्यसैगरी कम्पनीको सञ्चित नोक्सानी करिब १२ अर्ब ६३ करोड रुपैयाँ छ । असार मसान्तमा कम्पनीको कुल इक्विटी करिब ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ अझै पनि ४४ रुपैयाँ ४८ पैसा मात्रै छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार १३:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।