Logo

कर्पोरेट फोकस

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा कति पाइन्छ?



काठमाडौं । वाणिज्य बैंकहरुले भदौका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले आज एक सूचना जारी गर्दै भदौका लागि लागू हुने ब्याजदर सार्वजनिक गरेको छ ।

भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ०.२९ प्रतिशत र संस्थागत तर्फ ०.२० प्रतिशतले ब्याजदर घटाएका छन् । त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर घटाएको छ ।

त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतले ब्याजदर घटाउँदा कुमारी बैंकले व्यक्तिगतमा ०.०९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.०५ प्रतिशतले ब्याजदर कम गरेका छन् ।

नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई गरी १५ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल बैंक र प्रभु बैंकले दिनेछन्। यी दुई बैंकले व्यक्तिगत तर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन् ।

अर्कोतर्फ, व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र सिद्धार्थ बैंकको रहेको छ, ग्राहकले अधिकतम ३.७६ प्रतिशत मात्र ब्याज पाउनेछन् ।

संस्थागत मुद्दती निक्षेपको हकमा भने नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, एभरेष्ट र हिमालयन बैंकले सबैभन्दा धेरै ३.५ प्रतिशत ब्याज दिनेगरी तोकेका छन् । प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम २.७५ प्रतिशत मात्र ब्याजदर तोकेका छन् ।

 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार ११:३६   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।