Logo

समाचार

हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता



गोरखा। मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालको आधार शिविरमा हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता भएका छन्।

हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो खसेपछि धार्चे गाउँपालिका–२ केरौँजाका वीरेन्द्र गुरुङ र आशबहादुर गुरुङ शनिबारदेखि सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजुकुमार श्रेष्ठले जानकारी दिए।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार दुवै जना पर्वतारोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका थिए। करिब ३२ वर्षीय वीरेन्द्र हिमालयन होलिडेज कम्पनीका बेसक्याम्प सहयोगीका रूपमा कार्यरत थिए।

४५ वर्षीय आशबहादुर भने इम्याजिन नेपाल एक्सपिडिसन प्रालिमार्फत गाइड तथा कुकम्यानको कामका लागि हिमलुङ पुगेका थिए।

आइतबार बिहान हिमपहिरोमा परेर बेपत्ता भएका उनीहरूको खोजी कार्यलाई तीव्र बनाउन परिवार तथा आफन्तले आग्रह गरेका छन्।

‘आशबहादुर र वीरेन्द्रको घरमा अहिले रुवावासी छ,’ पीडित परिवारका अर्जुन गुरुङले भने, ‘वीरेन्द्रका बुवा, श्रीमती र तीन–चार वर्ष तथा पाँच–छ वर्ष उमेरका दुई छोरा छन्। आशबहादुरकी श्रीमती र छोराछोरी काठमाडौंमा छन्। घरमा वृद्ध आमा हुनुहुन्छ।’

प्रहरीका अनुसार हिमलुङ आधार शिविरमा आएको हिमपहिरोमा उनीहरूसहित १६ जना बेपत्ता भएका थिए। तीमध्ये दुई जनाको शव फेला परिसकेको र सनाखतसमेत भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

बेपत्ता अन्य व्यक्तिको खोजी कार्य जारी रहे पनि वीरेन्द्र र आशबहादुरको भने अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार १९:५५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।