काठमाडौं । पीएचपी प्रोग्रामिङ प्रणालीमा सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीहरूले आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन् ।
सम्भावित साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न ती संस्थाले अनलाइन प्रणालीको सुरक्षा परीक्षण र अद्यावधिक थालेका हुन् ।
वेबसाइट बन्द गरिएपछि अनलाइन बैंकिङ, नयाँ खाता खोल्ने, ग्राहक पहिचान विवरण ९केवाईसी० अद्यावधिक गर्ने तथा केही डिजिटल भुक्तानी सेवामा अस्थायी अवरोध आएको छ ।
तर, वेबसाइट बन्द हुँदैमा बैंकिङ प्रणाली ह्याक भएको वा ग्राहकका व्यक्तिगत विवरण चोरी भएको निष्कर्ष निकाल्न नमिल्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पीएचपीमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा अनलाइन प्रणालीलाई इन्टरनेटबाट अलग राखिएको जानकारी दिए । उनका अनुसार प्राविधिक टोलीले प्रणाली सुरक्षित बनाउन आवश्यक अद्यावधिकको काम गरिरहेको छ ।
बैंक तथा वित्तीय संस्थालाई अनलाइन प्रणाली सञ्चालन गर्दा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको पौडेलले बताए । राष्ट्र बैंकमा बुझाउनुपर्ने केही प्रतिवेदनसम्बन्धी कामसमेत अफलाइन माध्यमबाट गर्न भनिएको छ ।
राष्ट्र बैंकका अनुसार हालसम्म बैंकिङ प्रणालीमा समस्या आएको वा सर्वसाधारणको रकम तथा व्यक्तिगत विवरण चोरी भएको पुष्टि भएको छैन ।
सम्भावित जोखिमबाट बच्न अपनाइएको सावधानीलाई बैंकिङ प्रणालीमा साइबर आक्रमण भएको घटनाका रूपमा बुझ्न नहुने अधिकारीहरूको भनाइ छ ।
नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार बैंकहरूले वेबसाइटमा उपलब्ध सार्वजनिक विवरण तथा सेवाहरूको सुरक्षा परीक्षण गरिरहेका छन् । वेबसाइटमा देखिएको जोखिमले बैंकहरूको मुख्य बैंकिङ प्रणालीमा प्रत्यक्ष असर नपारेको उनले बताए ।
यसैबीच, केही बैंकले सुरक्षा अद्यावधिक पूरा गरेपछि आफ्ना वेबसाइट पुनः सञ्चालनमा ल्याएका छन् । अन्य संस्थाले पनि जोखिम मूल्याङ्कन र सुरक्षा परीक्षण पूरा गरी प्रभावित सेवा क्रमशः सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
पीएचपीसम्बन्धी सुरक्षा जोखिम नेपालमा मात्रै सीमित नरहेको र विश्वका विभिन्न सरकारी तथा निजी क्षेत्रका वेबसाइटसमेत प्रभावित भएको जनाइएको छ ।
जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले सुरक्षा प्याच जडान गर्ने, सफ्टवेयर अद्यावधिक गर्ने तथा आवश्यकताअनुसार वेबसाइट अस्थायी रूपमा बन्द गर्ने उपाय अपनाएका छन् ।
प्राविधिक विज्ञहरूले पीएचपीमा आधारित प्रणाली प्रयोग गरिरहेका संस्थालाई जोखिमको प्रकृति पहिचान गरी आवश्यक सुरक्षा प्याच तथा नयाँ संस्करण जडान गर्न सुझाव दिएका छन् ।
साथै, प्रणालीको सुरक्षा परीक्षण गरेर जोखिम नियन्त्रण भएको सुनिश्चित भएपछि मात्र सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको जोड छ ।




















प्रतिक्रिया