चितवन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै तटबन्ध निर्माण र कटान नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएकी छन् ।
भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री गौतमले नारायणी नदीको दुवैतर्फका बस्तीको सुरक्षाका विषयमा चासो व्यक्त गरेकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चितवनका सभापति ई। मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले कटान प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै समस्या समाधानका लागि पहल गर्ने बताएकी थिइन् ।
नदी कटानको जोखिम बढी भएका क्षेत्रमा तत्काल काम अघि बढाउनुपर्नेमा जोड दिँदै उनले अन्य क्षेत्रमा पनि दीर्घकालीन समाधानका लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताएकी थिइन् । तटबन्ध निर्माण, कटान नियन्त्रण र त्यसका लागि आवश्यक बजेट व्यवस्थापनका विषयमा समेत उनले चासो देखाएकी थिइन् ।
अवलोकनका क्रममा स्थानीयवासीले नारायणी नदीको कटानबाट बस्ती जोगाउन तटबन्ध निर्माणको बाँकी काम शीघ्र सम्पन्न गर्न माग गरेका थिए । उनीहरूले बस्तीको सुरक्षा सुनिश्चित गर्न कटान नियन्त्रणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।
स्थानीयवासीका गुनासो सम्बोधन गर्दै मन्त्री गौतमले नारायणी तटबन्धको बाँकी काम संघीय आयोजनाअन्तर्गत अघि बढाइने बताएकी थिइन् । विज्ञ इन्जिनियरको निगरानीमा आवश्यक बजेट सुनिश्चित गरी काम अघि बढाउने उनको भनाइ थियो ।
मन्त्री गौतमले निर्वाचनका बेला हुने राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर गाउँबस्तीको संरक्षण र विकास निर्माणका काममा सबै पक्ष एकजुट हुनुपर्नेमा समेत जोड दिएकी थिइन् ।




















प्रतिक्रिया