‘जो बढी भ्रष्ट छ उसकै स्वर चर्को हुन्छ’ : अन्तर्वार्ता (देखापढी अनलाइन) बैशाख २, २०७७
प्रश्न
स्वास्थ्य उपकरणको प्रसंग उठ्दा स्वास्थ्य सामग्री खरिद प्रक्रिया निकै चर्चामा रह्यो। त्यसमा अनियमितताको आरोप लाग्यो, प्रक्रिया मिचिएको कुरा पनि उठ्यो नि?
उत्तर
काग पनि नआइकन कागले कान लग्यो भनेर हल्ला गर्ने एकथरी छन् । काग आएको भए पनि लग्यो कि भन्ने आशंका गर्नु एउटा हुन्थ्यो । तर, यहाँ त काग आएकै छैन । अब त्यसपछि कान छाम्ने कुरा पनि नगरीकन कता लग्यो कान भनेपछि यता लग्यो भनेर त्यतै कुद्ने प्रवृति देखियो। बुझ्नुपर्ने कुरा के छ भने विशेष परिस्थितिमा सामान्य अवस्थाका कानूनहरूभन्दा विशेष परिस्थितिकै कानून लागू हुन्छ । विशेष परिस्थितिसम्बन्धी कानून २०२० ले खरिद प्रक्रियालाई नेपाल सरकारको मन्त्रालयको महानिर्देशक वा पछिल्लो समयमा संशोधित व्यवस्थाअनुसार प्रदेश सरकारको मन्त्रालयको महानिर्देशक लगायतले तत्ककाल खरिद गर्नसक्ने व्यवस्था गरेको छ ।
यो महामारीको अवस्था हो, मान्छे बचाउने कुरा हो। मान्छे बचाउने अवस्थामा यस्ता कुराहरूमा हामी पर्खेर बस्न सक्दैनौँ। खरिद प्रक्रियाा भनेर मान्छेको लस्कर मर्ने, रोग फैलिइरहने, हामी त्यो कुरा हुन दिन सक्दैनौँ। त्यसकारण त्यसको कानूनी व्यवस्था गरिएको छ। विभागीय महानिर्देशकलाई सम्झौता गर्ने, आह्वान गर्ने, छोटो अवधि दिने, खरिद गर्ने, सोझै पनि खरिद गर्न सक्ने अधिकार दिइएको छ । विभागीय प्रमुख वा महानिर्देशकले यो काम गरेर एक तह माथिलाई जानकारी गराउन सक्छ, कानूनी व्यवस्था यही हो ।
आवश्यक सामग्री खरिद गर्न मन्त्रिपरिषदले यस ऐन बमोजिम विशेष परिस्थितिमा आ-आफ्नो अधिकार यसरी प्रयोग गर्नू भनेर त्यसतर्फ ध्यानाकर्षण गर्दै नीतिगत रूपमा निर्णय गरिदिएको हो । त्यहीअनुसार महानिर्देशकले खरिद प्रक्रिया अगाडि बढाए। प्रक्रिया अगाडि बढाउनेवित्तिकै त्यसमा राजनीति हुनथाल्यो। कुन्नि के ग्रुप, बालुवाटारबाट संरक्षित यस्तो उस्तो भन्ने बकवासहरू त्यसमा मिसाइए। र, अत्यन्त गलत उद्देश्य र गलत नियतका साथ त्यसलाई प्रचारबाजी गरियो ।
सामान आइपुग्यो। तर, सामान भनेजति आएन, भनेको गुणस्तरमा आएन आदी कुराहरू गरेर स्वास्थ्य सेवा विभागका महानिर्देशकले खरिद प्रक्रिया रद्ध गरे। जुन कम्पनीले ल्याउने कबोल गरेको थियो, त्यसको धरौटी जफत गरे। उसको माल गुणस्तरको भएन र समयमा ल्याएन, मात्रा पुग्नेगरी ल्याएन, कबुलअनुसार काम गरेन भनेर कालोसूचीमा राख्ने निर्णय गरे। उनले त्यो काम गरेपछि मैले पनि सञ्चामाध्यमबाट थाहा पाएँ।
हुन चाहिँ उनले यस्तो यस्तो रहेछ भनेर पहिले प्रधानमन्त्री वा विभागीय मन्त्रीलाई जानकारी गराउनु बान्छनीय हुन्थ्यो। यससम्बन्धमा किन त्यसो भएन भनेर हामी छानबिन गरिरहेका छौँ। अधिकार भए पनि परिस्थितिको जानकारी नगराइकन सञ्चारमाध्यमबाट थाहा पाउनुपर्ने र यस्तो आलोचनाको स्थितिमा सञ्चारमाध्यमबाट भइरहेको आक्रमणको परिस्थितिमा हामीले फेरि त्यसप्रकारले जानकारी पाउने र ती आक्रमणहरूसँग सामना गर्नुपर्ने अवस्था उपयुक्त होइन। मैले भनेको छु, कुनै प्रकारको अनियमितता छ भने नेपाल सरकारको भ्रष्टाचारविरुद्धको कमिटमेन्ट हो, मैले भनेको छु म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न दिन्नँ। कसैले पनि गर्छ भने त्यसको छानबिन गर्छु र कारबाही गर्छु । अहिले म धेरै नभनौँ ।
प्रश्न
यो खरिद प्रक्रियामाथि अहिले छानबिन भइराखेको हो ?
उत्तर
अहिले हामी आन्तरिक रूपमा बुझ्ने काम गरिराख्या छौँ। यो उपयुक्त भएन भनेर त डीजीले नै खारेज गरिसकेको, धरौटी जफत गरिसकेको, ब्ल्याकलिस्टेड गरिसकेको अवस्था छ। तर, त्यही कुराको, ब्ल्याकलिस्टेड गर्दासम्म, धरौटी जफत गर्दासम्म, भनेजस्तो सामान आएन भन्नेकुराको माथि रिपोर्टिङ किन भएन र एकैचोटी यस्ता कदमहरू किन चालिए ? यसको प्रचारसँग कति सम्बन्ध छ, यथार्थसँग कति सम्बन्ध छ ? यी कुराहरू हामीले आन्तरिक रूपमा त बुझ्नुपर्छ, हेर्नुपर्छ ।
प्रश्न
तपाईंले अघि भन्नुभो, प्रक्रिया हेरेर मान्छे मर्न दिनुभएन, सामान ल्याउनुर्पयो। अहिले सामान ल्याउने अर्को विकल्प अगाडि बढाइसकिएको छ। सँगसँगै विवादित बनेको खरिद प्रक्रियामा बदमासी गर्नेहरूलाई एक्सन लिइएन भन्ने पनि कुरा उठेको छ नि ?
उत्तर
बदमासी भएको छ भने कारबाही हुन्छ । यसमा कुनै सन्देह छैन । तर, हामीकहाँ हल्ला चलाएर प्रतिभाको हत्या गर्नेहरू पनि छन् । कुनै प्रतिभा नेपालमा जन्मिन नपाओस्, कोही पनि शुद्ध छ भनेर जनताले बुझ्न पाउने अवस्था नहोस् भन्ने त्यो समूहको चाहना छ । सबैलाई मुछिदिने, सबैलाई भ्रष्ट भन्ने गर्छ । जो भ्रष्ट छैन उसलाई भ्रष्ट छ भन्ने हल्ला गर्छ, जो बढी भ्रष्ट छ उसकै स्वर चर्को हुन्छ । हामी त्यो परिपाटीसँग बग्दैनौँ ।
प्रश्न
तपाईंले त मैले खरिद प्रक्रियाबारे सञ्चारमाध्यमबाट मात्र थाहा पाएँ भन्नुभो । तर, केही सञ्चारमाध्यमले चाहिँ प्रधानमन्त्रीको ठाडो आदेशमा टेण्डर प्रक्रिया रद्ध गरिएको हो भनेर लेखेका छन् नि?
उत्तर
होइन । ती सञ्चारमाध्यमहरूले गलत जानकारी प्रवाह गरेका हुन , के उद्देश्यले त्यसो गरे थाहा छैन । महानिर्देशकले पत्रकार सम्मेलन गरेर त्यो प्रक्रियालाई रद्ध गरियो, त्यो कम्पनीलाई ब्ल्याकलिस्टेड गरियो, उसको जमानत पनि जफत गरियो भनेको कुरा मैले सञ्चारमाध्यमबाटै सुनेको हुँ ।
प्रश्न
सञ्चारमाध्यममा चाहिँ तपाईंलाई यो प्रक्रियामा तपाईंकै नजिकका केही मन्त्री, सचिवालयका केही मानिसहरूले गुमराहमा राखे, पछि मात्रै तपाईंले थाहा पाएर रद्ध गराउनुभो भन्ने कुरा पनि आइराखेका छन् नि ?
उत्तर
मेरो सचिवालयको विरुद्ध त शुरूदेखि नै हमला छँदैछ । किनभने सचिवालयमा भएपछि मलाई सहयोग गर्नु स्वाभाविकै हो । मन्त्रिपरिषद्मा भएपछि मन्त्रीहरूले मलाई सहयोग गर्नु स्वाभाविकै हो । मेरा सहयोगीहरूमाथि हमला शुरूदेखि नै भइरहेकै हो। मेरो सचिवालयका सदस्यहरूको डिफेन्ड ग¥यो भन्लान तर म के ठान्छु भने मेरो सचिवालयका सदस्यहरू त्यति कमजोर छैनन् कि मैले ढाल बनिदिनुपरोस, मैले डिफेन्ड गर्नु परोस् । तर, म कतिमात्रै भन्छु भने यो त मलाई सहयोगी हात बढाउने, मलाई सहयोग गर्ने, समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा समर्थन वा सहयोग गर्नेहरूमाथि केही तत्वहरूको निरन्तरको र निराधार हमला सदावहार रूपमा चलेकै छ । मैले त्यतिमात्रै भन्न खोजेको हो ।
सचिवालयमा बसेर मेरो आलोचना गरेर, मलाई गुमराहमा राखेर असफल बनाउने भूमिका खेलिदिनुपर्थ्यो भन्ने उहाँहरूको आग्रह होला। विभिन्न पत्रिका र सञ्चारमाध्यमका वा गलत राजनीतिक उद्देश्य बोकेकाहरूको सुलसुलेको रूपमा काम गरिदिनुपथ्र्यो, कुनै पनि निर्णयहरू वा कुनै पनि छलफल, सल्लाह, आदी कुराहरू संवाददाताको रूपमा सम्प्रेषण गरेर उनीहरूलाई मद्दत र्पुयाइदिनुपर्थ्यो र देशविरुद्धको एउटा चक्रव्यूहका गोटी बनिदिनुपथ्र्योे भन्ने आग्रह हुनसक्छ । त्यो भएन, अनि रिसाए ।
‘भ्रष्टाचार भयो भन्ने कूप्रचार भयो’ : लकडाउन पछिको पहिलो सम्वोधनमा –चैत २५, २०७६,
नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ।
सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ ।
समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन।
भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किँंचित पछि पर्ने छैन ।
याे पनि,
कोरोना विस्तार, लकडाउन र भ्रष्टाचार संगसंगै : तीनमहिनामा प्रधानमन्त्रीले के भने के गरे ?
कोरोनाको बन्दोवस्तीमा निरन्तर भ्रष्टाचार – प्रधानमन्त्रीको काम सधैँ जोगाउने मात्रै !




















प्रतिक्रिया