नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुको जिम्मेवारी पुरा भैनसकेको र एक अर्कासंग लड्ने समय आई नसकेको बताएका छन । एकता समझदारी मार्फत संविधान कार्यान्वयन र समृद्ध नेपाल निर्माणमा अगाडी बढन आवश्यक रहेको उनले धारणा ब्यक्त गरेका छन । प्रचण्डले दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताएका हुन् ।
आन्दोलनबाट प्राप्त उपलब्धीलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगत स्मरण गर्दै उनले फेरि पनि खतरा आउन सक्ने बताए ।
राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र बलिदान गर्न र त्याग तथा तपस्याका कीर्तिमान बनाउन सक्षम भएको तर, प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकुल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने, रुपान्तरण गर्न राजनीतिक नेतृत्व चुकेको उनको विश्लेषण छ ।
‘यो पटक यो परिस्थितिलाई दोहोरिँदैन भनेर विश्वास गर्न सक्ने आधार हामीसँग छ त ? उनले भने, कि दिनप्रतिदिन परिर्वतन डाइलुट हुँदै र राज्य संरचनाका अन्य अवयवहरुले राजनीतिक नेतृत्वलाई भुत्ते बनाउन सक्ने र कहिँ न कहिँ पुरातन वा परम्परागत सोच र शैली हावी हुने खतरा छ ? यो प्रश्न अब हल भइसक्यो । अब केही हुन सक्दैन भन्ने अवस्था अझै छैन’ प्रचण्डले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रक्रियामा यो एक वर्षका अनुभवलाई हेर्दा थुपै जटिलता देखिएको उनले सुनाए । परिर्वतन सुदृढ हुँदै जान्छ । विकास, समृद्धि हुन्छ भन्ने विश्वास जनतामा बढेको छ वा घटेको घट्दै गएको छ भन्ने अझै टुंगो लागिनसकेको भन्दै उनले भने, जनता धैर्यताका साथ हेरिरहेका छन् । सरकार र पार्टीहरुले प्रयास गर्दैछ भन्ने विश्वास लिएका छन् ।’
दलहरुको एकतामा जोड दिएका उनले अब एकअर्कासँग जति सकिन्छ निषेधात्मक रुपमा लडे हुन्छ भन्ने समय आइनसकेको बताए ।
सरकारको नीति तथा कार्यक्रम ठूलो आकांक्षासहित आएको उनले बताए । तर, त्यसबारे प्रमुख विपक्षीको आशंका रहेको भन्दै उनले भने, आश्वासनको पुलिन्दा जस्तो भनेर शंका गरेको छ प्रतिपक्षीले । त्यसलाई सरकारले सकारात्मक चुनौतीका रुपमा लिएर सम्पूर्ण रुपमा कार्यान्वयनका लागि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।’

















प्रतिक्रिया