सधैं जनताको काममा दत्तचित्त भएर लाग्ने कर्णबहादुर मगर तीनपाटन गाउँपालिकाका प्रमुख हुन् । सिन्धुलीको दुर्गम ठाउँमा फिक्कल गाउँपालिकामा जन्मिएका उनी मिलनसार युवा नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनको पठनपाठन स्थानीय सामुदायिक विद्यालय हुँदै सिन्धुली क्याम्पसबाट सम्पन्न भयो । नेविसंघबाट राजनीतिमा हात हालेका मगर तरुण दल हुँदै अहिले नेपाली कांग्रेसको क्षेत्रीय सभापतिसमेत रहेका छन् । उनै मगरसँग समसायिक विषयमा केन्द्रित रहेर अनलाइनपानाका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
तीनपाटन गाउँपालिकाको काम कसरी अगाडि बढिरहेको छ ?
कोभिडको कारणले काम गर्न अलिकति अप्ठ्यारो थियो । अहिले विस्तारै सुचारु हुँदै अगाडि बढेको छ । विद्यालयको पठनपाठन पनि सुचारु भइसकेको छ । अन्य अफिसहरु पनि खुलिसकेका छन् । यहाँको अवस्था लगभग पहिलाको जस्तै सामान्य हुन थालेको छ । क्रमिक रुपले पहिलाको जस्तै अगाडि बढिरहेको छ । अब पहिलाकै अवस्थामा आइसक्यो ।
विकास निर्माणका काम कसरी अगाडि बढीरहेको छ ?
मंसिर मसान्तसम्ममा विकास निर्मााण्का योजनाहरु अगाडि बढाउनु पर्नेहुन्छ । त्यसभित्र हामीसँग बढीमा चार पाँचवटा योजनाहरु हुन्छन् । ती योजनाहरुका झण्डै ७० प्रतिशत काम सम्पन्न भइसकेका छन् । अब २५ प्रतिशत काम बाँकी छ । त्यो पनि छिट्टै सम्पन्न हुँदैछ ।
प्रधानमन्त्रीको कदमको जनातामा कस्तो प्रभाव परेको छ ?
एकदमै नकारात्मक प्रभाव परेको छ । अझै हामी नेपाली नागरिक भएको हैसियतले जुन कदम प्रधानमन्त्रीले चल्नुभयो भयो त्यो हाम्रो हित विपरित जनताका हित विपरित भनेर हामी सबैले बुझिराहेकै छौंँ । त्यसमा अझ दुःखलाग्दो करा के हो भने बल्लतल्ल संविधा बनेर मुलुक एउटा ठाउँमा आएको थियो । त्यसपछिको आमनिर्वाचनबाट नेकपाको दुईतिहाई जनिकको सरकार बनेको थियो । जसको कारणले मुलुक सही ढङ्गले अघि बढ्छ भन्ने जनअपेक्षा थियो । त्यसलाई हत्या गर्ने काम प्रधानमन्त्रीबाट भयो । यो अन्त्यन्तै दुःखद् काम हो । जसरी देशलाई धरासायी बनाउने काम प्रधानमन्त्रीबाट भएको छ । त्यो देश र जनताको लागि घातक भएको छ । म नेपाली कांग्रेसको क्षेत्रीय सभापति पनि भएको हैसियतले यसबाट चिन्तित छु । गाउँगाउँमा जनताहरु पनि चिन्तित छन् ।
हिजो उत्साहित भएर नेकपालाई भोट हाल्ने जनताको भनाइ कस्तो पाउनुहुन्छ ?
प्रधानमन्त्रीको कदमले जनताहरु धेरै निराश भएका छन् । अहिले उनीहरु हामीले अब नेकपालाई किन भोट दिने भनेर उल्टै प्रश्न गर्न थालेका छन् । ‘हामीले भोट हालेर दुईतिहाई नजिकको सरकार बनाउने अवसर दियौं । त्यसलाई अपमान गरेर प्रधानमन्त्रीले संसदै भंग गर्नुभयो । जसले पार्टीलाई पनि तहसनहस ग¥यो । चुनावका बेला सबैले भोट लिनुपर्ने । कार्यकर्ताले खटेर हिड्नुपर्ने अनि नेतृत्वले चाहीं जे मन लाथ्यो त्यहीं गर्ने हो भने अब फेरि भोट किन दिने भन्ने जनगुनासो बढेको छ ।
प्रतिपक्षले काम गर्न नदिएर प्रधानमन्त्रीले संसद भंग गर्नुभएको हो ?
यति राम्रो र शालिन प्रतिपक्ष त कुनै सरकारले पाउँदैन । यस्तो प्रतिपक्ष कुनै सरकारले भेट्टाएको पनि छैनन् र अब पनि भेट्टेने छैन । हिजो सरकारले हिम्पियाधुराको चुच्चे नसक्सा बनाउँदा सबैभन्दा पहिले धन्यवाद दिने नेपली कांग्रेस नै हो । म नेपाली कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतले चुनाव आउँदा त खुशी हुनुपर्ने हो नि, तर खुशी छैन किनभने देश त दुब्यो नि । प्रधानमन्त्रीलेसंविधानमै नभएको प्रयोग गर्न थालेपछि देश वर्वादीतिर उन्मुख भएको छ । कोरोना कहरले पाँच वर्ष पछाडि धकेलिएको देश फेरि प्रधानमन्त्रीको कारणले अर्काे पाँच वर्ष पछाडि गयो । अहिले जसरी प्रधानमन्त्री उत्साहीत भएर जसरी बोलिरहनुभएको छ, त्यो अत्यन्तै असोभनीय देखिन्छ । त्यो पदमा आसिन व्यक्ति त्यसरी तल्लो स्तरमा ओर्लेर बोलिरहनु भएको छ । उहाँजस्तो मान्छेले त्यसरी बोल्न सुहाउँदैन । उहाँ हामी सबैको प्रधानमन्त्री हो, नेकपाको मात्रै त हैन नि ।
प्रधानमन्त्रीको आन्तरिक कटाक्षलाई के भन्नुहुन्छ ?
प्रधानमन्त्री तहबाट त्यति तलसम्मको भाषा प्रयोग हुनुनहुने हो । किन भने उहाँ कुनै बहस गर्दै हुनुहुन्न नि । तिनै विषयलाई पनि उच्चस्तरीय भाषामा भन्नु उचित हुन्छ जस्तो लाग्छ । उहाँ तथ्यपरक विषयमा भन्दा पनि खाली उखान टुक्का जोडेर हसाउने काम गर्नुहुन्छ । कुनै विषयमा गम्भीर देखिनुहुन्न । उहाँ प्रधानमन्त्री भएदेखि नै खाली आन्तरिक झगडामा कुहिराको कागझै रुमलिएर बस्नु भएको छ । जननिर्वाचित संविधानलाई लत्याएर जनमतको हुर्मत लिनुभएको छ ।
जनताले कांग्रेसलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
अहिले कांग्रेसप्रति जनताको एकदमै आकर्षण बढेको छ । जसरी हामीले प्रधानमन्त्रीको असंवैधानिक विरुद्ध देशैभरि विरोधका कार्यक्रम राख्यौं। जुनखालको कार्यक्रमहरु आयोजना ग¥र्यौ । त्यसपछि कांग्रेसप्रति जनआक्रषण ह्वात्तै आकर्षण बढेको हो । हामीले सिन्धुलीका सबै क्षेत्रमा विरोधका कार्यक्रमको आयोजना ग¥र्यौं । सबै क्षेत्रमा क्षेत्रीय भेला र कार्यक्रमहरु उत्साहजनक रुपमा सम्पन्न भयो । ती कार्यक्रममा व्यापकरुपमा जनउपस्थिति रह्यो । त्यसबाट क्षेत्र, वडा र प्रदेशहरुमा पनि संगठन विस्तार भएको छ । साथीहरुमा कांग्रेसमा प्रवेश गर्ने व्यापक रुपमा लहर बढेको छ । अब कांग्रेसको लागि भोटको खाँचो छैन ।
नेकपाले जनसमर्थन थेग्ननसकेर भाग्यो, अब कांग्रेसले सक्छ ?
म सिन्धुली क्षेत्र नम्बर १ पार्टी सभापति पनि हुँ । त्यो हैसियतले हाम्रो पार्टीका शीर्ष नेताहरुलाई के भन्न चाहन्छु भने अब हामीले भोट पाउने निश्चित छ । त्यसको लागि युवा जेनेरेसनको आवश्यक छ । प्रवेश गर्ने पनि धेरैजसो महिला र युवाहरु नै छन् । युवाहरुले पनि केही गर्ने नीति बनाएका हुन्छन् । त्यसकारण उनीहरुको सम्मान हुनुपर्छ । उनीहरुको केही लक्ष्य हुन्छ, हामीले त्यो लक्ष्यलाई पनि फलोअप गर्नुपर्छ । त्यसैले नेतृत्वले पदको लागि भन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने सुझाव हाम्रा केन्द्रीय सभापतिलाई दिन चाहन्छुृ ।
फेरि कांग्रेस बहुमत ल्याउँदा कुर्सीमा बस्ने उहाँहरु नै हो । त्यसकारण पार्टीभित्र गुटबन्द गर्नुभन्दा पनि सबै नेता एकजुट भएर जनता समक्ष जानुपर्छ । कुर्सी र पदको लडाइँमा मात्रै केन्द्रित हुँदा नेकपाभित्र के भएको छ ? त्यसबाट हामीले शिक्षा लिनुपर्छ । यदि नेताले कुर्सी केन्द्रित राजनीति मात्रै गर्ने हो भने जनताले के पाउने त ? अहिले कांग्रेसलाई अवसर छ । त्यही हिसाबले हाम्रा केन्द्रीय नेतृत्व अगाडि बढ्नुपर्छ ।

अब संविधान र लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको हो ?
हो, किन भने चार-चार जना कम्युनिस्ट प्रधानमन्त्री हुँदा बनाउन नसकेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको हो । संविधान घोषणा हुँदा स्व. सुशील कोइराला प्रधानमन्त्री र पार्टी सभापति हुनुहुन्छ । यो संविधानको लागि कयौँ मान्छेहरु ज्यान गुमाए । धेरै हताहत भए । दश वर्षे जनयुद्धमा राज्य फस्यो । युवाहरु विदेश पलायन हुनुप¥यो ।
नेपाली कांग्रेस र तत्कालीन एमालेमा भोट हालेकै भरमा विस्थापित हुनुप¥यो । यी सबै दुःखहन्डर खेपेर ल्याएको संविधान हो । त्यसकारण हामीले बनाएको संविधानलाई अत्यन्तै पालना गर्नुपर्छ । जनताको हितको लागि भनेर लेखिएको सविधान हो नि त । यति धेरै दुःख कष्ट सहेजर ल्याएको संविधान एउटा व्यक्तिको लहड र हठमा मनपरी गर्न पाइँदैन । प्रधानमन्त्रीलाई त्योसो गर्ने अधिकार पनि छैन ।
अब नेपाली कांग्रेसले जनतासमक्ष जान कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?
अहिले कम्युनिस्ट साथीहरुले जुन खालको व्यवहार गर्नुभएको छ । संसाद्मा पनि उनीहरुकै बहुमत, प्रदेश र स्थानीयमा पनि उनीहरुकै बहुमत थियो । यत्रो अवसर पाउँदा पनि उहाँहरु खाली पार्टीका कार्यकर्ताभन्दा माथि उठेर काम गर्न सक्नुभएन । विकास निर्माणका काम गर्दा पनि कार्यकर्ता नै केन्द्रमा राखेर गर्नुभयो । साझा रुपमा जनताको काम गर्न कहिल्यै सक्नुभएन । गाउँका सोझा जनताले दिएको भोटको दुरुपयोग सिवाय केही भएन । गाउँलेले दिएको भोटको आडमा शहर केन्द्रित भएर बस्नुभयो ।
नेता भएपछि पार्टीभन्दा पनि जनतालाई न्याय दिन सक्नुपर्छ । मैले सबै साथीहरुलाई त्यही नै भन्ने गरेको छु । जनताको काम गर्दा यो पार्टी त्यो पार्टी भनेर छुट्याउनु हुँदैन । चुनाव जुन पार्टीबाट जितेको भएपनि प्रतिनिधि भइसकेपछि सबैको साझा भएका काम गर्नुपर्छ । म नेपाली कांग्रेसबाट जितेको हुँ तर मैले गाउँपालिकाको जति पनि काम गरेँ । त्यो सबै साझा भावनाले गरेको छु । कांग्रेस, कम्युनिस्ट अन्य पार्टी भनेर कहिल्यै पनि छुट्याउने गरिँन । र आउँदा दिनमा पनि गर्नेवाला छैन । त्यहीं भएर त कांग्रेस कम्युनिस्टभन्दा फरक हो ।
तपाईं तीनपाटन गाउँपालिकाको अध्यक्ष भएर साझा रुपमा काम गर्नुभएको छ ?
मसँग धेरै मिडियाका साथीहरुले अन्तर्वार्ता लिनुभएको छ । यस गाउँपालिकामा ४० हजारभन्दा बढी जनसंख्या छ । यहाँका जनतालाई न्यायको लागि कुनै पनि कसर बाँकी राखेको छैन । यस गाउँपालिकामा मैले भ्रष्ट भयो भन्ने शब्दहरु लेख्ने मौका पत्रकारलाई दिएको छैन। जनतालाई सकेसम्म सेवा दिने कामहरु गरिराखेकै छु । कार्यकर्ता, साथीहरुलाई बिहानदेखि बेलुकासम्म खटाएको छु । आफूपनि जनताको कामका लागि दत्तचित्त भएर रातदिन खटेको छु । म हप्ता एक÷दुई दिनभन्दा घर बसेको छैन । धेरैजसो जनताकै घरमा बसेको छु । वडाअध्यक्षहरुको प्रत्येक महिनाको दुई पटक मिटिङ हुन्छ । त्यो मिटिङमा छलफल हुँदा उहाँहरुलाई पनि जनताको काम गर्दा साझा रुपमा गर्न सुझाउने गरेको छु । जनतालाई न्याय दिन म एकदमै लागिपरेको छु । म सय प्रतिशत भन्न त सक्दिन तर बेखुशी हुने जनता कमै छन् ।
तपाईंको कामप्रति कत्तिको जनगुनासो पाउनुभएको छ ?
अहिलेसम्म मेरो कामप्रति त्यस्तो गुनासो आएको छैन । म अहिले पनि हप्तामा एक दुई दिन मात्र घरमा बस्छु, । अरुबेला गाउँमै बास बस्छु । गाउँमा जाने समस्या बुझ्ने सानो–सानो समस्यामा पनि आफै पुगेर के के छन् भनेर छलफल गरेको छु । हामी जनताका लागि खटिराहेकै छौ । जनतामा केही समस्या आइप¥यो भने भोलिपल्टै सम्बोन्धनको लागि तयारी गर्छु ।
तीनपाटन गाउँपालिकाका दुर्गम भेगका मुख्य समस्या के हुन् ?
त्यहाँ प्रायःबाटो र बिजुली सम्बन्धी नै धेरैजसो कुरा उठ्ने गर्छ । उहाँहरुलाई बाह्रै महिना बाटो चाहिएको छ । मैले बिजुलीको लागि विद्युत प्राधिकरणमा भनिसकेको छु । अब छिट्टै सबै घरमा बिजुली पुगिसकेको हुनेछ । मैले तीनवटा वडामा स्वास्थ्य संस्था बनाएको छु । दुर्गम ठाउँका मानिसले सेवा नपापछि फेरि मैले ६ ठाउँमा निर्माण गरेर सेवा दिएको छु । घुम्ती सेवाहरु पनि उपलब्ध गराएको छु । औषधिको विषयमा धेरै चाहाना छ । प्रत्येक वडामा औषधि उपलब्ध भइरहेको छ । सकेसम्म मैले चाँडो भन्दा चाँडो स्वास्थ्य सेवा उपलब्ध गराउन लागिपरेको छु ।
कृषि उपार्जनको लागि कस्तो रणनीति बनाउनुभएको छ ?
तीनपाटन गाउँपालिका कृषि उपार्जनको लागि महत्वपूर्ण मानिएको छ । यहाँ धेरै खेतीयोग्य जमीन छ । यहाँका किसानहरुको समयमै उन्नत जातको बीऊ मल पाउनुपर्ने माग छ । किसानहरुको कुरा के छ भन्दा किसानहरुले समयमै मल पाउनुप¥यौ । हामीलाई केही अनुदान दिनुपर्यो । ट्याक्टरको उपलब्ध गराउनुपर्यो । मकै रोने मेसिन धान झार्ने मेसिन आएको छ यी तमाम विषयमा अलि उपलब्ध गराउनुपर्ने छ । कृषिलाई बढावा दिएको हो भन्ने कोभिडपछि जनताले बुझेका छन् ।
कृषिमा आधुनिकिकरण गर्नको लागि कतिको दबाब भइरहेको छ ?
कोभिडको कारणले विदेशमा बसेका दिदीबहिनी दाजुभाइहरु फर्केर आउनुभयो । शहरमा बसेकाहरु पनि गाउँमै फर्किेएर आउनुभयो । त्यसरी आउने साथीहरुले अहिले पाँच बिगासम्म जमीन खरिद गरिसकेका छन् । त्यसकारणले हामीले मल बिऊ दिने मेसिन खरिद गरिदिने, यन्त्रहरु उपलब्ध गराउने, किरालाएको ठाउँमा औषधि हाल्ने, विषाधिहरुको व्यवस्था हुनुपर्छ । त्यो काम व्यापक रुपमा भइरहेको छ । अब तीनपाटन गाउँपालिका कृषिमा आधारित हुने अवस्था छ ।
युवा वर्ग कृषिमा आकर्षित भएका छन् ?
एकदमै आकर्षित भएका छन् । किनभने हिजो मैले देख्दा चालीस कटेका मानिसहरु मात्रै खेत, बारी काम गर्थे । अहिले १८, २० वर्षका भाइबहिनीहरु पनि आकर्षित भएका छन् । पहिला मानिसहरु विदेश जाने आउने अनि बुढो भएपछि खेतीको काम गर्ने गर्थे । अहिले गाउँमै खेतीपाती गर्ने, कुखुरा पालन, गाईभैंसी पालन, बुङ्गुर पालनलगायतका काममा लागेको पाइन्छ । त्यसैले स्थायी आम्दानीकिो स्रोत कृषिभ इसकेको छ ।
चदाह र भालु खोला रोकथामको लागि के गर्नुभएको छ ?
सामान्य रुपमा अहिले यसको लागि छलफल गरिराहेकै छौ । त्यसलाई बिसवर्षसम्ममा तटबन्ध पुरा गर्ने लक्ष्य लिएका छौं । तटबन्धनबाट पुलसम्म बन्ने योजना बनाएका छौं । त्यसको लागि अलिकति समय लाग्छ । आगामी बीसवर्षसम्ममा चदाह चदाह, भालुखोला र काडङ खोलालाई व्यवस्थित बनाउने योजना बनाइएको छ । यी खोलाले अहिले नै धेरै क्षति पुर्याएको छैन ।
शाखामाढी, भीमथानतिर कस्तो योजना बनाउनुभएको छ ?
शाखामाढीदेखि भीमसम्मको लागि पक्की पुल बनाइएको छ । नदी नियन्त्रणको काम पनि नियमित रुपमा अगाडि बढाइएको छ । भविष्यमा खोलाको छेउबाट करिडोर बनाउने योजना बननाइएको छ ।
सिम्ले, गोपालपुर, गैरीखानी, भलायडाँडा, लुभुतिर कस्तो समस्या देख्नुहुन्छ ?
थोरै समस्या सिम्लेको छ । त्यहाँ गुफा पनि त्यसको लागि बाटो, सिँढी निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने योजना थियो । त्यो काम सुचारु भइरहेको छ । बाटो पनि पुगिसकेको छ थोरै बाँकी छ । त्यसैगरी गैरीखानी, भलायडाँडा, लुभुतिरको बाटो निर्माण भइसकेको छ । कतैकतै खानेपानीको समस्या छ । त्यसको लागि काम भइरहेको छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हिजो साथ सहयोग दिएर भोट हालेर यहाँसम्म पुर्याउनुहुने आमा बा, दाजुभाइ दिदीबहिनीलाई धन्यवाद दिन चाहन्छु । म नमस्कार गरेर ठूला मान्छे भएको होइन । काम गरेर तीनपाटन गाउँपालिकाको अध्यक्ष भएको हुँ । तपाईंहरुलाई समस्या परेको बेला म जति बेलापनि हाजिर हुन तयार छु । आफ्ना समस्या मसँग भन्न अप्ठ्यारो नमान्नुहोला । तपाईंहरुकै कारणबाट म अध्यक्ष भएको हुँ । त्यसैले सधैं तपाईंहरुकै काममा हाजिर तयार छु भन्न चाहन्छु ।



















प्रतिक्रिया