जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो ।
जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो । सङ्क्रमितसँग सम्पर्कमा आएका र परिवारका सदस्यलाई पनि आरडिटी एवं पिसिआर विधिबाट परीक्षण गर्दा प्रतिवेदन नेगेटिभ आएपछि सडक विस्तारको काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।
गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक पाँच वर्षदेखि अलपत्र छ । सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन ।
केन्द्रविन्दुबाट दायाँबायाँ ११र११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।
सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सातरसात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११र११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिए ।
सहमतिसँगै चालू आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । रु ५८ करोड लागतमा भइरहेको काम असार मसान्तसम्म नसकिने निश्चित भएको बिस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।
बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युत्को पोल, तार लगायत संरचना हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी पार्वती तामाङले गुनासो गरिन् ।
यसैबीच जोरपाटी चोकबाट सुन्दरीजलतिर जाने मुखका स्थानीयवासी मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि हाल त्यहाँको काम रोकिएको छ ।
अन्य स्थानमा भने हाल सुरक्षाका विधि अपनाएर एक समूहमा १० जना मानिसले गर्ने एवं यन्त्रले गर्न सकिने ढलका लागि हिमपाइप राख्ने काम भइरहेको आयोजनाले जनाएको छ । त्यहाँभन्दा बढी कामदार जम्मा हुने काम भने हुन सकेको छैन । वर्षा अघि नै सडकमा ग्राभेलसम्म गर्न सकिने गरी काम अघि बढाइएको नगरपालिका वडा नं। ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले सुनाए ।
ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षाका समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ ।
निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनीयर सनम श्रेष्ठ बन्दाबन्दी शुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएको बताउँछन् । यही महिना काम सकिनुपर्ने भएपनि हालसम्म मुस्किलले ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ । रासस




















प्रतिक्रिया