बुटवलमा आफ्नै बिरामी छोरालाई जिउँदै गाडेको आरोपमा प्रहरीले बाबुलाई नियन्त्रणमा लिएको छ।
बिरामी रहेका ८ वर्षका छोरा राजेशलाई उपचार गर्न लैजानुको सट्टा गाडेको आरोप स्थानीयले लगाएपछि बुटवल उपमहानगरपालिका वडा ११ प्रगतिनगरका ३६ वर्षीय राजु परियारलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो। उनले तिलोत्तमा ४ को जंगलमा बोरामा लगेर छोरालाई गाडेका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरका अनुसार स्थानीयले छोरालाई उपचार गर्न लैजानुको सट्टा बोरामा हालेर जंगलमा गाडेको सूचनाका आधारमा पुगेको प्रहरीले गाडेको अवस्थामा ८ वर्षीय बालकको शव निकालेको थियो।
स्थानीयले जिउँदै गाडेको आरोप लगाएपनि बाबु राजु परियारले भने आरोपको खण्डन गरेको राठौरले बताए।
‘स्थानीयले खबर गरेपछि हामी गयौं, हामी गएर खाडलबाट बच्चालाई निकालेर अस्पताल लगेपछि अस्पतालले मृत्यु भइसकेको भन्यो’, उनले भने, ‘बाबुले बच्चालाई जिउँदै गाडेको भनेर कुटपिट गर्ने प्रयास गरेपछि हामीले बाबुलाई नियन्त्रणमा लिएर राखेका छौं, तर बाबुले अस्पताल लैजाँदै गर्दा मृत्यु भएपछि ल्याएर गाडेको भन्ने बताएका छन्।’
स्थानीयले बच्चाको मृत्यु भएपछि स्थानीयलाई पनि खबर नगरेको र घटना लुकाउन खोजेकाले हत्या नै भएको दाबी गरेको उनी बताउँछन्।
‘हामीले स्थानीय र मृतकका भाइसँग सोधपुछ गर्दा उनी हिजो बिरामी परेका थिए भन्ने जानकारी छ’, राठौर भन्छन्, ‘हामी अनुसन्धान गर्दैछौँ, पोष्टमार्टम रिपोर्ट र अरु अनुसन्धानपछि वास्तविक कुरा खुल्छ।’



















प्रतिक्रिया