Logo

‘असामाजिक’ बन्दै सामाजिक सञ्‍जाल



यति फराकिलो संसारमा आफन्तको मन जस्तै संकुचित र साघुँरो भएको छ, सामाजिक सञ्‍जाल । बढ्दो प्रविधिको सकारात्मक र नकारात्मक प्रयोग संसारभरी कुनै न कुनै रुपमा भइरहेको हामी सबैलाई अवगत नै छ । पहिले सहज बनाउने यस्ता कुनै पनि प्रविधिको विकास नहुँदा समाज र संस्कृतीको अर्कै महत्व थियो । तर, अहिले बढ्दो विकास सँगसँगै यस्ता कुराहरुको महत्व घट्दै गएको पाइन्छ  । आजको यो २१ औं शताब्दी सूचना र प्रविधिको शताब्दी हो । प्रविधिकै कारण हामी जुन कुनामा भए पनि संसारभर रहेका करोडौं मानिसहरूसँग सम्पर्कमा रहन सक्छौँ भने आफ्ना विचार, भावनाहरू साटासाट गर्न सक्छौँ ।

बिहान उठेदेखि बेलुकी रातिसम्म हामी सामाजिक सञ्‍जालमा नै लिप्त हुन्छौँ, यो क्षेत्र प्रतिको झुकाव युवापुस्तामा झनै बढिरहेको छ । बिहान उठेर गुड मर्निङ पोस्टदेखि खाना खाजाको हुँदै शुभरात्री पनि सामाजिक सञ्‍जालमै हुन्छ । यस्तो देखिँदै छ कि कतिपयलाई यति नगरि निद्रा नै पर्दैन । अहिलेको बढ्दो प्रविधि युवापुस्तामा मात्र सीमित रहेन । घर-घरमा परिवारका सदस्य सामाजिक सञ्‍जालमा छन् । जसकारण अभिभावकले आफ्नो छोरोछोरीलाई समेत ध्यान दिन सकिरहेका हुँदैनन्, परिणाम छोराछोरीले गलत कदम चालेको पत्तै हुँदैन । 

सामाजिक सञ्जालकै कारण एउटै परिवारका सदस्य एउटै कोठामा भएर पनि  सुख-दु:खको संवाद हुँदैन । भर्चुअल जिन्दगी निकै साँघुरो भइसके छ । घटना एक वर्ष अगाडिको हो, चार जना साथीहरू पढ्न भनेर गाउँदेखि सहर आएका थिए । उनीहरू शान्तिनगरमा डेरा गरि बस्थे । सबै जना मिलेर बस्थे, हाम्रो संवाद पनि भइरहन्थ्यो दुई वर्षपछि हामीले प्लस टु सक्कायौँ । त्यसपछि कलेज पनि छुटियो । सबै जना आफ्‍नै सुरमा थिए । एक दिन धेरै समयको अन्तरालपछि मलाई साथीको म्यासेज आयो म आफ्नै काममा व्यस्त थिएँ । त्यसैले पनि मैले रिप्लाई गर्न भ्याइन् । फेरि बेलुकी समयमा कल आयो सुक्क-सुक्क रुँदै गरेको आवज मात्र ।

यताबाट मैले बोलाएँ, उ मधुरो स्वरमा बोली सुजता आउन…। यतिकैमा उसले फोन राखी । म झनै सोचमा परेँ । ६ महिनापछि अचानक कल गरेर आउन भनी, के भएछ ? किन होला ? मैले फेरि फोन गरे, तर फोन उठेन । त्यसपछि मैले उसैसङ बस्‍ने तीन जना साथीलाई नै फोन गरे उनीहरू सबै जना बाहिर भएको फोनमार्फत भने । अरु साथीहरुले ‘बाहिर जाऊँ भनेको मानिन्, ब्वाइफ्रेन्डसँग झगडा परेर होला ? भनेर जिस्किए । अनि मैले फोन राखे म पनि आफ्नै कामहरु व्यस्त भएँ । साथिहरुकै मजाकलाई होला भन्ठानेर पत्याएँ । 

अफिस पुगेर फेसबुक खोल्नासाथ उसैको स्ट्याटस आयो । ‘यो स्वार्थी संसारमा बाँच्‍नु छैन, आमा मलाई पनि बोलाउन तिमी भएकै ठाउँमा…’। म छक्क परेँ, आन्टीलाई के भएछ ? दिनदिनै फोटो क्याप्सन हाली राख्थी केही समयदेखि नै पोस्टहरू पनि रहेनछ मैले हतार-हतार फोन गरेँ उसले एकै घण्टीमा फोन उठाइ । मैले हेलो भन्‍न नपाइ, उसले भनी मेरो फेसबुकको स्ट्याटस पढिस् ? म अकमक्कमा परेँ । मैले भने – उम ! के भयो ममीलाई ? ‘म भोलि पोस्ट गर्छु अनि अनि पढ्लिस् ! यतिकैमा फोन राखी…। लगत्तै म काम नै छोडेर उसको डेरामा गएँ, उनीहरू चार जना नै कोठामा नै थिए । सबैजना मोबाइलमा व्यस्त थिएँ । उ भने सुतिरहेकी थिइँ । उसलाई मैले बोलाएँ, धेरै चोटि बोलाउँदा पनि उ नबोलेपछि मैले उसलाई हल्लाए । उसलाई धेरै ज्वरो आएको थियो, मैले सोधे के भयो ? उसले भनी ज्वरो आको छ । लगत्तै उसले भनि- किन आकिम पोस्ट गरी हाल्थे नि ! अहिले मोबाइल चार्जमा छ भनेर आँखाभरि आँशु बनाइ । 

उसले टाउको दुखेको छ, सुत्छु भनी । बाँकी हामीले पनि सोधेनौं ! यो सुनेर मेरो मनमा प्रश्‍न उब्जियो, साँच्चि नै एक सामाजिक सञ्जालले हामीलाई जोड्दै छ कि, तोड्दै छ ? कोशौँ टाढा भएका मानिसहरूसँग रातदिन कुराकानी हुन्छ,  खाना खायौ, खाजा खायौ – कस्तो के गर्दै छौँ ? चाहिने भन्दा नचाहिने चिजमा समय बरबाद गरिरहेका हुन्छौँ । तर आफ्नो साथमा भएको मानिसलाई नजिक गएर हात समातेर के भयो भनेर प्रश्न गर्न भ्याउँदैनौ । अनि यो यस्तो सञ्जालको के-काम जसले मनको हालचाल बुझ्‍न सक्दैन ।

उसले मलाई पुरानो अकाउन्‍टबाट फेसबुक खोलेर देखाउँदै भनी – मेरो मम्मी बित्‍नुभयो, सबैले फोटो पोस्ट गरे तैँले त रिप भन्‍न पनि भ्याइनस है ? उसले बोलेका त्यो शब्द सरल हो या मलाई गरिएको प्रहार मैले छुट्याउन नै सकिनँ । मैले उसको हातको फोन समातेर हेर्ने थाले, साथीहरूले सँगै बसेका फोटोहरू र जसले आन्टीलाई आजसम्म देखेको छैन लामो आयुको कामना समेत नगरेकाहरू सबैले हार्दिक श्रद्धाञ्जली, भावपूर्ण श्रद्धाञ्जली, चिर शान्तिको कामना, रिपदेखि मृत्युमा दिइने सम्पूर्ण श्रद्धाञ्जली र समावेदनमा व्यक्त गर्ने शब्दहरू लेखेर फोटो पोस्ट गर्न भ्याएछन् । म झनै निराश भएर उसको मुहारमा हेरेँ – एकोहोरो भइरहेकी थिइँ। मनमा प्रश्न पनि उठ्यो जो एउटै खाटमा सुत्छन्, एउटै थालमा खान्छन् उनीहरूले फेसबुकमा मिस यु आन्टी स्वर्गका बास होस भनेर क्याप्सन राख्‍न भ्याएकाहरुले उसको काँपेको शरीर समातेर, बगेका आँशु पछ्न किन भ्याएनन् होला ?  तनको आँखाले संसार देख्यो, तर मनको आँखाले आफ्नै अगाडिको मान्छे नै देखेन ।

उसलाई मैले अस्पताल जान आग्रह गरेँ तर उ मानिन् । गाउँ जाने ४ बजेको टिकट छ । त यहाँबाट जा मलाई कोही चाहिन्‍न । उसले यती बोले पछि म त्यहाँबाट उठे उसले फेरि भनी भोलिको दिन कसले देखेको छ र म अब फेसबुक चलाउन्‍न । म मरे भने तिमीहरू आफनो फेसबुकमा मेरो फोटो नहाल है… । ज्युँदो हुँदा साथ नपाएसी मरेपछि चाहिन्‍न मलाई भन्दै उ लुगा प्याक गर्न थाली म पनि केही बोल्न सकिन त्यहाँबाट हिँडे । उक्त घटना पछि सबै साथीहरूमा मनमुटाव – आयो एक अर्कोबाट झनै टाढा भइयो । यहि सामाजिक सञ्जालको सदुपयोगको कारण हरेक काममा सहज भएको छ भने दुरुपयोगले त्यती नै असहज ।  धेरै कुरा आज पनि याद छ ती दिनहरू यही सामाजिक सञ्‍जालको दलदलको कारण आफन्‍त नै पराइ भएको ।  

सामाजिक सञ्‍जालले सारा संसारलाई जति जोडेको छ । नियालेर हेर्ने हो भने त्यति नै तोडेको पनि छ । आजभोलि सामाजिक सञ्‍जालमा होडबाजी चलेको छ । कसको धेरै फलोअर्स लाइक कमेन्टको लागि हदैसम्म त ठिकै हो, तर हदभन्दा माथि पुगेर विभिन्‍न हर्कत गर्ने जुन समाजले  पचाउन सक्दैन् ! सामाजिक सञ्‍जाललाई सामाजिक भन्‍ने कि नभन्‍ने ? जसले समाजलाई पचाउन गाह्रो हुने कुरा दिइराखेको छ । एउटै परिवार बसेर कुनै भिडियो हेर्ने क्रममा उठेर हिँड्नपर्छ । आफन्तको अगाडि न त फेसबुक हेर्न सकिन्छ न त युट्युब १ कसैले स्ट्याटस राख्छन् र ।

आफ्नै तर्क ठिक हो भन्‍ने भ्रम पैदा गरेको छ । छिटोको बाठो र को ज्ञाता बन्‍ने होड चलेको छ । एकलाई अर्कोको कुरा चित्त बुझेन भने भए-भरको गाली र आक्रोश अर्को माथि पोखिन्छ । आज एउटा फोटोको कमेन्टबाट लेख्दा प्रिय बनेको साथी भोलि अर्को फोटो राख्दासम्म दुश्‍मन भइसक्छ भने यसलाई कसरी सामाजिक भन्‍ने ? विभिन्‍न नकारात्मक सोंचहरू सिर्जना गर्न विवेकलाई घटाउने र आवेगलाई बढाउने सञ्जाललाई कसरी सामाजिक भन्‍ने ? तथ्यभन्दा तर्कले जितेर कालोलाई सेतो र सेतोलाई कालो बनाउने युवा पुस्ताले संयम के हो, कसरी बुझ्ला र ? चेतनाभन्दा बढी उत्तेजना, स्‍नेहभन्दा बढी घृणा, आलोचना, भास, आवेग र आक्रोशले यतिसम्म जरा गाडेको छ कि यसलाई बदल्न आफू स्वयं मात्र बदल्नु पर्छ । 

आफूले मन लागेको खाना पाइन्छ, मन लागेको गर्न पाइन्छ । जीवन जिउने सबैलाई स्वतन्त्रता छ । तर स्वतन्त्रता छ भन्दैमा आफ्नो नैतिकता र सामाजिक प्राणी हो भन्ने हैसियत बिर्सिँदा हामी यो युवा पुस्ताले देख्‍ने भोलि कस्तो होला ? 

नास्टे रोबर्ट मार्लीले भनेका थिए – आफैँलाई हेर त, के तिमीले जिइरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ ? मेरो मनमा प्रश्न पनि यही उठिरहेको छ । के साँच्चै हामी सामाजिक सञ्जाललाई बिर्सेर खुसी हुन सकौला ? हामीले सामाजिक सञ्जालमा गरिएका माया प्रेमका कुराहरू भाइरल हुन गरिएका अनेकौँ हर्कतहरु खोक्रा नै होइनन् र ? टाढा-टाढा बसेका मानिससँग बोलिएको मिठा कुराले बिरामी भको बेलामा एक गिलास तातो पानी आउला र ? यति मात्र होइन – सामाजिक सञ्‍जालमा एउटाले लेखेको कुरा अर्कोले मन परेन वा आलोचना गर्‍यो भने लेख्‍ने मान्छे नै चिन्तित हुन्छ । उसले खाली मलाई आलोचना गर्‍यो, गाली गर्‍यो, मेरो तर्कमा सहमति जनाएनन् इत्यादि सम्झन्छ अनि त्यही कुरामा उसले आफ्नो समय नै बवार्द गर्छ  । 

मानिस सबैभन्दा चेतनशील प्राणी भएर पनि किन अरूबाट परिचालित भइरहेका छन् ? सामाजिक सञ्जाल हामीले होइन, सामाजिक सञ्जालले चाहिँ हामीलाई चलाइरहेको छ ।  जबकि तपाई हाँस्ने, रमाउने, खुसी हुने, दुःखी हुने तपाईँको व्यक्तिगत कुरा हो । अरूले आफ्नो कुरामा सहमति नजनाएकै भरमा, मन नपराएकै भरमा रिसाउने, दुःखी हुने गर्न थालियो भने त आफू नै रहिन्छ र ? 

सामाजिक सञ्जालमा पोस्ट भएका फोटो क्याप्सन र टिकटकको भिडियोहरूमा आएको कमेन्टले रातभर सुत्न नसकेको मानिसहरु पनि प्रशस्तै भेट्न सकिन्छ । कोही त डिप्रेसनको सिकार बनेका छन् । सञ्जालमा युवापुस्ता देख्दा यस्तो लाग्छ, यी आफूलाई मन नपर्ने सब चिज अतिवादी हो र नपर्ने सहीवाद हो । भलै मान्छे सद्भावले नै प्रतिकृयावादी हो तर सञ्जाल हेर्ने हो भने अध्ययन, अनुसन्धान, तथ्य र विश्लेषण बिनै हरेक मान्छे हरेक कुरामा प्रतिक्रिया दिन चाहन्छ । त्यो पनि बेग, तेजमा अरू सबैलाई तल पारेर।

कोही मान्छे मन परेको छैन भने उसको कुरै नसुनी विषय नै नबुझी विश्लेषण त परै जाओस्, ‘अन्दाज र अड्कल’को भरमा आक्रोश पोख्‍न, गाली र निन्दा गर्न तम्सन्छन् । सञ्‍जालको कुरा गर्दै गर्दा यसै सञ्जालका सहयोगबाट गरिने र गरिएका कामहरु जस्तो  – रक्तदानमा सेवा पुर्‍याउने, हराएका चिजहरू भेट्टाउन सहज हुने, विपन्‍न, गरिब, र बिरामीलाई सहयोग गर्नेजस्ता अनेकौँ कामहरू यस सञ्जालबाट भएका छन् । यसलाई नजरअन्दाज गर्न कदापि सकिँदैन, गरियो भने अन्याय हुन जान्छ।

उदाहरणको लागि मानौँ, श्रीमान विदेशमा श्रीमती छोरा छोडेर अर्केसँग फरार अनि यही सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत चर्चाका लागि अर्काको जीवनको महत्व बुझ्दैन । यथार्थ नबुझि बहकाउमा आएर व्यक्तिगत स्वार्थको लागि हेर्न र पढ्न नसक्ने हेडलाइन राखी पोस्ट गर्छन् – पोस्टमा गएर उसको कुरा चित्त नबुझेकै भरमा, पोस्ट मन नपरेकै भरमा तथानाम गाली गर्छन् भने यस सञ्जाललाई  कसरी सामाजिक सञ्‍जाल भन्‍ने ? सहयोग र सद्भाव नभई सामाजिक बन्‍न सकिँदैन, यहाँ सहयोग भयो र सद्भाव भएन । शब्द त भयो तर अर्थ रहेन । त्यसैले यो सञ्जाल सामाजिक सञ्जाल हुनबाट चुक्यो । यसले सामाजिक शब्दको परिभाषा माथि नै अन्याय गर्‍यो । 

सामाजिक सञ्जालको प्रयोगले हामी आफूले आफैँलाई आफूबाट टाढा पनि बनाइरहेका छौँ । सामाजिक सञ्जालकै दुरुपयोगका कारण थुप्रै आत्महत्या, हत्याका घटनाहरू सु्न्‍न र पढ्‍न पाइन्छ । सूचना, प्रविधि र सोसल नेटवर्कले मान्छेलाई दासी बनाएको छ । जसको प्रयोगबाट मानिसहरू अल्छी एवं परनिर्भर समेत भएका छन् । सामाजिक सञ्जाल किन बन्यो किनकि मानव सभ्यतालाई झन् विकासोन्मुख बनाउन सहयोग गर्न, काम छिटो छरितो बनाउन । यसको सही सदुपयोग गरौँ, सबैलाई सम्मान दिऊँ । मन र समाजलाई स्वच्छ बनाऊँ ।

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  ११ : ०९ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।