पोखरा । नेपाल डेरी एसोसिएसनले दुग्ध व्यवसायीलाई कोरोना खोपमा प्राथमिकता दिनुपर्ने माग गरेको छ । दूध तथा दुग्धजन्य पदार्थका व्यवसायीहरु फ्रन्टलाइनर भएको र अत्यावश्यक व्यवसायमा आबद्ध भएकाले खोपमा प्राथमिकता दिनुपर्ने एसोसिएसनको माग छ ।
नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशले बिहीबार मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाउँदै खोपमा प्राथमिकता दिन आग्रह गरेको हो ।
एसोसियसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दूध मानव जीवनको बच्चादेखि वृद्धसम्म सबैलाई नभइ नहुने अति आवश्यक खाद्य पदार्थ हो । दूध तथा दुग्ध पदार्थ ढुवानी तथा बिक्री वितरणलाई एम्बुलेन्स सरह मान्यता दिइ अति आवश्यकीय सेवा अन्तर्गतको लोगो सार्वजनिक भइ सूचिकृत गरेको अवस्था भएकाले उद्योग सञ्चालन र दूध संकलनलाई जुनसुकै अवस्थामा पनि सुचारु गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार अहिले उद्योगहरु सञ्चालित छन् ।”
यो विषम परिस्थितिमा व्यवसाय सञ्चालन गर्ने उद्योग तथा व्यवसायी, बिक्री वितरणका कर्माचारी कोभिडको जोखिममा रहेकाले खोपमा प्राथमिकता दिन एसोसिएसनले आग्रह गरेको हो । एसोसियसनले बिहीबार मुख्यमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालयमा उक्त विज्ञप्ति बुझाएका हुन् ।





















प्रतिक्रिया