काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका (गेट) बन्द गरेको छ । सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको सुरुङको मुल गेट बन्द गरिएसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ ।
वर्षायाम सुरु भएसँगै मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको तयारी थियो । मंगलबार सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किएका छन् ।
गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको आयोजनाले जनाएको छ ।
असोज मसान्तसम्मका लागि सुरुङ बन्द गरिएको हो । त्यसपछि मौसम र वर्षाको अवस्था हेरेर सुरुङको ढेका खोली पानी काठमाडौं ल्याइउने बताइएको छ ।
गत १ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको थियो ।




















प्रतिक्रिया