काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा एमबीबीएस पढेका केही विद्यार्थीलाई निर्धारित करार सेवा पूरा नगरी (पीजी) अर्थात स्नातकोत्तर तहमा पुनः भर्ना गराएर अर्काे अनियमितता गरेकाे खुलेकाे छ ।
अनलाइन पानाले प्राप्त गरेको सूचनामा आयोगले करार सेवा पूरा नगरेका डाक्टर अशुतोष घिमिरे, डाक्टर दिनेश लामिछाने, डा. अस्मिता श्रेष्ठलगायतलाई २०२३ मा भर्ना हुन दिएको छ । चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदानसम्बन्धी कार्यविधि २०७९ मा रहेको प्रावधान विपरीत चिकित्सा शिक्षा आयोगले उनीहरुलाई नयाँ भर्ना दिएको पाइएको छ । चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदानसम्बन्धी कार्यविधि २०७९ को परिच्छेद २ को १३ नम्बरमा स्पष्ट लेखिएको छ, ‘छात्रवृत्तिमा अध्ययन गरिसकेको विद्यार्थी कबुलियतनामा अनुसारको सेवा पूरा नगरी थप अध्ययनको लागि योग्य हुँदैन ।’
त्यस्तै चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदानसम्बन्धी कार्यविधि २०७९ को परिच्छेद २ को दफा ४ को उपदफा ङ मा स्पष्ट लेखिएको छ, ‘अध्ययन पूरा गरिसकेपछि ऐनको दफा ३८ को उपदफा १ बमोजिम नेपाल सरकारले खटाएको दुर्गममा एक वर्ष र सुगममा एक वर्ष काम गर्नुपर्नेछ ।’ अर्थात दुई वर्ष सरकारले खटाएको ठाउँमा काम गरेपछि मात्रै उक्त उम्मेदवारले थप अध्ययन गर्न पाउँछ ।
हेर्नुहाेस्, चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदान सम्बन्धी कार्यविधि, २०७९ !
अहिले स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुको चिकित्सा शिक्षा आयोगले लिएको पीजी अर्थात स्नातकोत्तर तहको प्रवेश परीक्षाको फर्म भर्ने अन्तिम मिति २०७९ मंसिर ५ गतेसम्म थियो । त्यस्तै प्रवेश परीक्षाको मिति २०७९ पुस २ थियो । तर याे वर्षाकाे स्नातकोत्तर तह अर्थात (पिजी)मा भइरहेको भर्नामा छात्रवृत्तिमा पढेका र्याङ्क १२९ तथा रोल नम्बर १४५२१ भएका डाक्टर दिनेश लामिछानेको नाम प्राथमिकता एक अन्तर्गत बीर अस्पतालमा सिफारिश भएको थियाे । अनलाइन पानाकाे सम्पर्कमा आएका लामिछानेले उनी आफ्नाे करार सेवा पूरा नभएकाले चाहेर पनि भर्ना नभएकाे र पहिलाे ‘रि म्याचिङ’मा अरु नै उक्त काेटामा भर्ना भएकाे बताए ।
नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर २८१२६ भएका उनको ‘प्याथोलोजी/क्लिनिकल प्याथोलोजी’ विषयमा बीर अस्पतालमा भर्ना भएको सूचना आयोगले नै प्रकाशित गरेको छ । जबकी उनले २०७७/०९/२६ देखि २०७९/०९/३० सम्म सरकारले खटाएको गैडाकोट नगर अस्पताल, नवलपरासीमा काम गर्न समय तोकिएको थियो । उनले सरकारले तोकेको अवधि पूरा नगरी थप अध्ययन गर्न नपाउने नियम चिकित्सा शिक्षा आयोगले नै जारी गरेको छ । तर करार सेवा गएको पुस ३० गते सकिने उनले गएको मंसिर ५ गतेसम्म रहेको प्रवेश परीक्षाको फर्म कसरी भरे र गएको पुस २ गतेको प्रवेश परीक्षा कसरी दिन पाए भन्ने प्रश्न उब्जिएको छ ।
उनीसँगै छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका डाक्टर आशुतोष घिमिरेले पनि सरकारले खटाएको कान्ति बाल अस्पताल काठमाडौंमा २०७७/९/१२ देखि २०७८/०९/२३ सम्म काम गर्ने गरी नियुक्ति पाएका थिए । त्यस्तै रामघाट प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौंमा २०७८/९/२४ देखि २०७९/०९/११ सम्म करार सेवा पूरा गरेपछि मात्रै उनले पढ्न पाउने व्यवस्था छ । तर नेपाल मेडिकल काउन्सिलको लाइसेन्स नम्बर २७८७७ भएका उनको पनि यस वर्षको स्नातकोत्तर तह अर्थात पीजीअन्तर्गत बीर अस्पतालमा भर्ना सिफारिश भएको छ ।
६३२ र्याङ्क तथा १२८५७ रोल नम्बर भएका उनी ‘अर्थोपेडिक्स र ट्रमा सर्जरी’ विषयअन्तर्गत बीर अस्पतालमा अध्ययनका लागि भर्नामा सिफारिश भएका छन् । करार सेवा गएको पुस ११ गते सकिने उनले गएको मंसिर ५ गतेसम्म रहेको प्रवेश परीक्षाको फर्म कसरी भरे र गएको पुस २ गतेको प्रवेश परीक्षा कसरी दिन पाए भन्ने प्रश्न उब्जिएको छ ।
अर्की र्याङ्क ८९९ र रोल नम्बर १४७३६ भएकी अस्मिता श्रेष्ठ पनि सुरुमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विषयमा भर्नाका लागि सिफारिश भएको देखिन्छ । फेरि उनलाई महाराजगञ्ज मेडिकल क्याम्पसमा पुर्याइएको छ । उनले पनि २०७७/९/२२ देखि २०७९/९/२२ सम्मको दुई वर्ष सेवा गर्नुपर्ने हुन्छ ।
एमबीबीएस अध्ययनको लागि छात्रवृत्तिमा अध्ययन गरेका सबैले २ वर्ष अनिवार्य सरकारले खटाएको ठाउँमा काम गर्नुपर्ने हुन्छ । २ वर्षको अवधि काम गरिसकेपछि मात्रै अन्य विषय पढ्न पाउने सुविधा आयोगले जारी गरेको निर्देशिकाले नै भनेको छ । तर यहाँ पनि कार्यविधि मिचेर चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई अहिलेको स्नातकोत्तर तहमा भर्ना दिएको छ ।
यस वर्षको चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतको पढाई भर्खरै सुरु भएको छ । विद्यार्थीहरुले ‘मेरिटोक्रेसी’ मिचेर आयोगले भर्ना गरेको भन्दै सर्बोच्चमा मुद्दा दर्ता गरेपछि ५ महिना अघिदेखि सुरु हुनुपर्ने स्नातकोत्तर तहको पढाई सुरु गर्न बल्ल बाटो खुलेको छ । तर आयोगका यस्तै बदमासीले फेरि पनि पढाइमा बाधा आउनसक्ने देखिन्छ । स्नातकोत्तर तहको भर्ना भने चिकित्सा शिक्षा आयोगले उहिल्यै गरिसकेको हो ।
चिकित्सा आयोगले अहिले एकीकृत प्रणालीअन्तर्गत भर्ना प्रक्रिया अगाडि बढाएकाले यो प्रकरणमा आयोगका पदाधिकारीले चलखेल गरेको हुनसक्ने आशंका समेत गर्न सकिन्छ । आफैँले बनाएको कार्यविधि मिचेर काम गर्न पदाधिकारी बाहेक अन्यले सक्ने अवस्था छैन । आयोगका यस्तै गतिविधिले चिकित्सा शिक्षा आयोगमा सुधारको जरुरी देखिएको छ ।
याे पनि पढ्नुहाेस्
चिकित्सा शिक्षा आयोगविरुद्ध स्नातकोत्तर तहको ‘मेरिटोक्रेसी’ विवादमा दायर भएको मुद्दा खारेज
स्नातकोत्तर तहमा ‘मेरिटोक्रेसी’ विवाद बल्झाउँदै चिकित्सा शिक्षा आयोग, विद्यार्थी आन्दाेलनमा
-डा. दिनेश लामिछानेले आफूले पहिलाे म्याचिङबाट बाहिरिएकाे बताएपछि त्याे तथ्य सम्पादन गरिएकाे (-सम्पादक)
प्रतिक्रिया