एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ । सोही अनुसार बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ५१.५४ प्रतिशतले घटेको छ ।
बैंकले चालु वर्षको असोजसम्म ३३ करोड ४७ लाख ६४ हजार नाफा गरेको छ। गत आव २०७६–७७ को सोही अवधिमा ६९ करोड ८ लाख ६८ हजार नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानीसँगै संचालन आम्दानी घटेपछि नाफा पनि घट्न पुगेको हो। यस अवधिको तीन महिनासम्म बैंकको वितरणयोग्य मुनाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ छ।
यस अवधिमा खुद ब्याज आम्दानी २८ प्रतिशत र संचालन आम्दानी ५१.५४ प्रतिशत घटेको छ। खराब कर्जासमेत गत वर्षभन्दा बढेकाले बैंकले खराब कर्जाको रकम आम्दानीबाट राख्नुपर्ने भएकाले पनि नाफा घटेको हो। गत आवमा ०.१७ प्रतिशत रहेको खराब कर्जा यस अवधिमा बढेर ०.२२ प्रतिशत पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी गत वर्षको सोही अवधिमा १ अर्ब ४३ करोड २५ रुपैयाँबाट घटेर १ अर्ब २ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, सञ्चालन मुनाफा गत वर्षको सोही अवधिमा ९८ करोड ६९ लाख ९९ हजार रुपैयाँ थियो। यस अवधिमा घटेर ४७ करोड ८२ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ।
चुक्ता पुँजी ८ अर्ब ५१ करोड २ लाख रुपैयाँ बैंकको जगेडा कोषमा ८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ संचित छ। असोज मसान्तसम्ममा १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी बैंकले १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा निक्षेप ९ प्रतिशत र कर्जा लगानी ३ प्रतिशत बढेको छ।
बैंकको प्रतिसेयर आम्दानी १५.८१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २२३.३२ रुपैयाँ कायम भएको छ। मूल्य आम्दानी अनुपात ४४.९७ गुणा कायम भएको छ।




















प्रतिक्रिया