युईएफए अन्तर्गत समूह ‘सी’ को खेलमा फ्रान्सले पोर्चुगलमाथि संघर्षपूर्ण जित निकालेको छ । गएराति पोर्चुगलको लिस्बनमा भएको खेलमा फ्रान्सले पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो ।
पाहुना टोली फ्रान्सलाई संघर्षपूर्ण जित दिलाउनको लागि एनगोलो कान्टेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा कान्टेले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल हुन नसक्दा खेल फ्रन्सले जित्यो ।
यस नतिजाले फ्रान्स नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले भने उपाधि रक्षा गर्न नपाउने पक्का भएको छ ।
अब फ्रान्स र पोर्चुगलको एक/एक खेल बाकीँ छ । उक्त खेलमा फ्रान्स हारे पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । समान अंक हुँदा हेड टु हेड लागु हुने भएपछि फ्रान्स अनि अंक तालिकाको शीर्षस्थानमा रहने पक्का भएको हो । पोर्चुगलले अन्तिम खेलमा क्रोएसियाको सामना गर्दैछ ।
गएराति नै भएको समूह सी कै अर्को खेलमा स्वीडेनले क्रोएसियालाई २-१ ले पराजित गर्यो। स्वीडेनको जितमा डेजन कुलुसेभ्स्कीले ३६ औं मिनेट र मार्कस ड्यानियलसन्ले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए। त्यस्तै खेलको ८१ औं मिनेटमा ड्यानियलसन्ले नै आत्मघाती गोल गर्न पुगेका थिए ।
यो सँगै समूह सी को शीर्षस्थानमा ५ खेलबाट १३ अंक जोडेको फ्रान्स छ । त्यस्तै दोस्रो स्थानमा १० अंक बनाएको पोर्चुगल छ भने तेस्रो र चौथो स्थानमा समान ३ अंक बनाएका क्रोएसिया र स्वीडेन छन्।
प्रतिक्रिया