Logo

समाचार

शनिबारसम्म वर्षा र हिमपात : सतर्क रहन आग्रह



बिहिबारदेखि देशका विभिन्न भागमा सिमसिम पानी परिरहेको छ भने हिमाली तथा उच्च पहाडी भागमा हिमपातसमेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म रहने महाशाखाका मौसमविद बरुण पौडेलले रातोपाटीलाई जानकारी दिए ।

उनले भने– ‘शनिबारसम्म मौसममा बदली हुने तथा पानी पर्ने हुन्छ । शनिबार पश्चिम क्षेत्रमा केही सुधार भएपनि मध्य र पूर्वी क्षेत्रमा भने मौसममा अहिलेकै अवस्था रहन्छ । अहिले सुदुर पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली भागमा बाक्लो हिमपात हुने सम्भावना छ ।’

बिहिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र पश्चिमी र मध्य भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र पूर्वी भेगका केहि स्थानहरुमा हल्का वर्षा हुने प्रबल सम्भावना रहेको विभागले जनाएको छ । साथै पश्चिमी र मध्य भू–भागको थोरै स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको छ भने मध्य र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै आज राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार भोलि शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने र अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम बर्षा हुनेछ । एक–दुई स्थानमा भारी वषाको समेत सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार राती पनि देशभर सामान्य बदली रहने र केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पूर्वी भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना रहेको छ ।

यस्तै शनिवार दिउँसो देशको पश्चिमी भेगमा आंशिक बदली रहने, मध्य र पूर्वी भेगमा सामान्य बदली रहनेछ जनाइएको छ । मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा हुनेछ । देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम र केही स्थानमा उच्च हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमबिद पौडेलले हिमाली भेगमा उच्च हिमपात हुने भएकोले सर्तक रहन सुझाव दिएका छन् । गएको २४ घण्टामा सबैभन्दा धेरै दाङमा ८ मिलिमिटर पानी परेको भने सुर्खेत र नेपालगञ्जमा ७ मिलिमिटर पानी परेको छ । यस्तै काठमाडौैँमा ३ मिलिमिटर पानी परेको छ ।

सामान्य वर्षा भएपनि अधिकतम ताक्रपत्र घटेपनि न्यूनतम तापक्रम भने कम नहुने मौसमविद पौडेलले बताए । अघिल्लो दिनहरुमा अधिकतम तापक्रम २२ डिग्री सेन्टिग्रेडसम्म पुग्न लागेपनि अहिले १६÷१७ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम भने ६÷७ डिग्री रहेको छ ।

यसैबीच वाढी पूर्वानुमान विभागले आज उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ । पहाडी क्षेत्रका स–साना खोलाहरुमा आकस्मिक बहाब प्रबाह हुन पनि सक्ने जोखिम रहेकोले सर्तक रहन भनिएको छ ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ६ : ३० बजे