Logo

प्रमुख समाचार

उपेन्द्र महतोको लगानी रहेको मेडिसिटीले पूर्वमन्त्रीको गर्यो गलत उपचार, अर्को अस्पतालले बचाइदियो ज्यान



उपेन्द्र महतोको लगानी रहेको ललितपुरको नेपाल मेडिसिटी अस्पतालले पूर्वमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको गलत उपचार गरेका कारण झन् थला परेको खुलासा भएको छ ।

नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले मेडिसिटी अस्पतालले पूर्वमन्त्री अधिकारीको गलत उपचार गरेको आरोप लगाएका हुन् । मेडिसिटीले उपचार गर्न नसकेपछि नेता अधिकारीलाई काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।

‘भरतमोहन अधिकारी ह्याम्पस अस्पतालमा सारिनुभएको छ । सानेपाबाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना हुनुभयो । केही दिनपछि डिस्चार्ज गरिनुभयो । पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियो र मेडिसिटीमै भर्ना हुनुभयो’, थापाले फेसबुकमा लेखेका छन्, ‘एक महिना उपचार गर्दा समेत ‘२० को १९’ नभएपछि उहाँलाई ह्याम्स अस्पतालमा सारिएको छ ।’

‘डा.भगवान कोइराला, डा.मनबहादुर केसी र डा.अर्जुन कार्की लगायत देशले भरोसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूको उपचारले उहाँ शीघ्र निको भएर घर फर्किनुहुने विश्वास छ’, केन्द्रीय सदस्य थापाले भनेका छन् ।

‘वितेको १ महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रबैया प्रदर्शन गरेको अनुभूति जोकोहीलाई भएको छ’, उनले भनेका छन्, ‘फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।’

‘८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको कस्तो जवाफदेहीपन होला ? बुझ्न गाह्रो पर्‍यो’, नेकपाका केन्द्रीय सदस्य थापाले भनेका छन् ।

‘खासमा यो अस्पताल कसको हो ? भरतमोहन अधिकारीको त यो हबिगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भोगिरहनु परेको होला ?’, उनले प्रश्न गरेका छन् ।व्यवसायी उपेन्द्र महतोको लगानी रहेको मेडिसिटी अस्पतालले राम्रो उपचार गर्न नसकेको भनेर पछिल्लो समय आलोचना बढ्दै गएको छ । मेडिसिटीमा उपचार मूल्य पनि अत्याधिक महँगो रहेको जनाइएको छ ।

मेडिसिटी अस्पतालका जनरल म्यानेजर विजय रिमालले पूर्वमन्त्री अधिकारीको उपचारमा कुनै पनि कसर बाँकी नराखिएको बताए छन् ।‘भरतमोहन अधिकारीज्यूकै परिवारले उहाँलाई अर्को अस्पतालमा लगेर जानुभएको हो । मुटुको उपचार गराउन आउनु भएको थियो’, रिमालले भनेका छन्, ‘हाम्रो अस्पतालमा सबै उपचार गरिएको थियो ।’मडिसिटीमा उपचार गर्न पुगेको बिरामी अर्को पटक फकेर जाँदैन भन्नेहरू धेरै भेटिएका छन् ।

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  ३ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।