Logo

अर्थ

लेखाले दियो पाँच दिनभित्र वाइडबडी अनियमिततामा संलग्नलाई कारवाही गर्न अल्टिमेटम



वाइडबडी विमान खरिदमा भएको अनियमिततामा संलग्नलाई पाँच दिनभित्र कारवाही गर्न संसदको सार्वजनिक लेखा समितिले ताकेता गर्ने भएको छ ।समितिले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच दिने समयावधि सहितको ताकेता पत्र पठाउने भएको हो ।

अनियमिततामा संलग्नहरुलाई कारवाहीका लागि एक महिने समयावधि दिएको लेखा समितिले त्यो समयावधि सकिएसँगै कारवाही सम्बन्धमा जानकारी सहितको प्रतिवेदनका लागि पाँच दिने समयावधिसहितको ताकेता पत्र पठाउने तयारी गरेको जनाएको छ ।

२३ पुषमा बसेको लेखा समिति बैठकले अनियमितामा संलग्नताको आरोप लगाउँदै वर्तमान पर्यटन सचिव कृष्ण देवकोटा र पूर्वसचिव शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारवाही सिफारिस गरेको थियो ।

समितिले दिएको त्यो एक महिनाको अवधि २३ माघमा सकिइसकेको छ । अवधि सकिएको एक हप्ता बित्दापनि आयोग र सरकार दुबैले कारवाही सहितको प्रतिवेदन नबुझाएपछि समितिले आजै ताकेतापत्र पठाउन लागेको छ ।

आउँदो ८ गते समितिको बैठक बस्दैछ । त्यही बैठकमा प्रतिवेदन पेश गर्न सरकार र अख्तियारका नाममा ताकेता गर्न लागिएको हो ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  १ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।