Logo

सम्पादकीय

यौन हिंसालाई रोक



महिला विरुद्धका सबै प्रकारका हिंसा अन्त्य गर्ने राष्ट्रसंघीय महासन्धि अन्तर्गतको सिड समिति (सिडो कमिटी) ले महिलाको इच्छा विपरीत यौन सम्बन्ध राख्ने, शरीर छुने, जिस्क्याउने, अपशब्द सुनाउने, यौनसम्बन्धी चित्र देखाउने, इसारा गर्ने, आँखा झिम्क्याउने, परिबन्धमा पारी यौन सम्बन्ध राख्ने वा यौन कार्यमा लाग्न बाध्य पार्ने जस्ता कार्यलाई यौन हिंसाको परिभाषा भित्र समेटेको छ ।

विगत केहि वर्षदेखि समाजमा महिला हिंसाका घटनाहरु बढी नै सार्वजनिक भइरहेका छन् । केहीदिन अघि मात्र संघीय राजधानी काठमाडौंमा सार्वजनिक सवारीमा यात्रा गर्दा महिलामाथि भएको यौन हिंसाले अहिले बजार तातिरहेको छ । विभिन्न हिंसामध्ये महिलामाथि हुने यौनजन्य हिंसाको पछिल्लो समय सर्वाजनिक स्थानमा पनि गएको छ । विगतमा महिलामाथि घरेलु हिंसा बढी हुने गरेको भए पनि पछिल्लो समय यौनजन्य हिंसामा बढोत्तरी भइरहेको छ ।

विशेषगरी महिलामाथि हुने बलात्कार र हत्याका घटना बढ्दै जाँदा महिलाहरु असुरक्षित महसुस गर्न थालेका छन् । बालिका, किशोरीदेखि वृद्धासम्म बलात्कारको शिकार बन्नु परेको अवस्था विद्यमान छ । हरेक वर्ष केहि अवधिभर महिला हिंसा अन्त्य गर्ने भन्दै अभियान चलाउने र त्यसमा ठूला–ठूला भाषण र प्रतिबद्धता जाहेर गर्दैमा महिलाहरुले हिंसाबाट बञ्चित हुन सक्दैनन् ।

महिला हिंसाका घटना न्यूनीकरण गर्न सम्पूर्ण राज्य र उसका संयन्त्र सशक्त ढंगले लाग्नुपर्ने देखिन्छ । नेपाली समाजमा बढ्दै गएको यौनजन्य हिंसाका कारण बालिका, किशोरी तथा महिलाहरु असुरक्षित रहेको स्पष्ट पार्दछ । यस्ता घटना बढ्दै जानु र घटनाका दोषी पक्राउ नपर्नुले देशमा अझैपनि निर्धक्क बस्ने अवस्था नरहेको आभाष दिन्छ ।

कति बेला के हुने हो भन्ने त्रासमा अझैपनि महिलाहरु बस्न बाध्य छन् । जबसम्म महिलाहरु निर्धक्क भएर आफ्ना गतिविधि गर्न पाउँदैनन्, तबसम्म सरकारले सुरक्षा व्यवस्थाबारे गम्भीर भएर सोच्न जरुरी छ । अतः महिलाको सुरक्षाकालागि सम्बन्धित निकायल गम्भिर हुन आवश्यक छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार ०५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।