Logo

विभिन्न विधाका ७ खेलाडी सम्मानित



युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मानबाट विभिन्न खेलाडीलाई पुरस्कृत गरेको छ ।
 
मंगलबार खेलकुल मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्रालयले ७ खेलाडी सहित विभिन्न विधाका खेलकर्मीलाई नगद सहित पुरस्कृत गरेको हो । सम्मानित हुने खेलाडीमा शारीरिक सुगठनका समिर श्रेष्ठ, भारत्तोलनका बिकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ ६६ हजार ६ सय ६६ रुपैयाँ सहित सम्मानित भए । यस्तै, गल्फका सुवास तामाङ्ग, साईकिलिङकी लक्ष्मी मगर, तेक्वान्दोकी आयषा शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ जनही १ लाख रुपैयाँ सहित सम्मानित भए । सम्मानित हुने अधिकांश खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका थिए ।
 
यस्तै, मन्त्रालयले तेक्वान्दोका प्रशिक्षक नविन श्रेष्ठ र करातेका प्रशिक्षक कुशल श्रेष्ठलाई जनही ५० हजार सहित सम्मान गर्यो । यस्तै, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ, चिकित्सक ज्ञानेन्द्रबिक्रम शाह र खेल संघबाट नेपाल गल्फ संघ समान १ लाख रुपैयाँले पुरस्कृत भए । कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद सम्मान पुरस्कारले नयाँ पुस्ता खेलकुदमा आकर्षित हुने बताए । कार्यक्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले वर्तमान सरकारले खेलकुदमा लगानी वृद्धि गरेको दावी गरे । खेलकुद प्रतिभा सम्मान पुरस्कारका लागि मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको थियो ।
 
सोही समितिले खेलाडी र खेलकर्मीको योगदानमा आधारित रहेर पुरस्कारका लागि छनोट गरेको हो ।
 
 
 
 
 
 
 
 

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।