रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्याकाण्ड योजनाबद्ध तरिकाले भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
६ जनालाई गाउँलेले कुटेर बेहोस बनाएर भेरी नदीमा फालेको प्रहरीको निष्कर्ष छ । रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।
आइतरबार सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको हो । ३४ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा दर्ता गरिएको जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । प्रतिवादी बनाइएकामध्ये पाँच जना फरार छन् ।
मृतक नवराज विककी प्रेमिका भनिएकी युवती, उसका बुबाआमा, वडाध्यक्षसहित ३४ जनालाई प्रतिवादी बनाइएको बोहराले जानकारी दिए । प्रहरी अनुसन्धानले मारिएका सबै ६ जनालाई गाउँलेले कुटेर बेहोस अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको छ ।
कुट्दै लखेटेको भनेर गाउँलेले पनि भनेका छन्। तर पहाडमा हुर्किएका केटाहरुले त्यो नदी सामान्य अवस्थामा तर्न सक्ने देखिन्छ । मृतकको शरिरमा देखिएको चोटपटकले मारेर या बेहोस अवस्थामा भेरी नदीमा फालेको हाम्रो निष्कर्ष छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।
३४ जना प्रतिवादीलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा लगाइएको ती अधिकारीले जानकारी दिए ।
जाजरकोटको भेरी नगरपालिकाका नवराज विक चौरजहारी-८ सोतीमा रहेकी ठकुरी परिवारकी प्रेमिका लिन १९ जना युवाहरु लिएर जेठ १० गते सोती पुगेका थिए । साँझतिर सोती पुगेका उनीहरुलाई गाउँलेले लखेटेका थिए ।
युवा पक्षका १३ जना सम्पर्कमा आएपनि ६ जना बेपत्ता भएपछि राति नै प्रहरीले खोजी सुरु गरेको थियो । त्यहि दिन राती नवराजको शव भेरी नदीको किनारमा भेटिएको थियो। करिब दुई साताको बीचमा बाँकी पाँच जना युवाको शव पनि भेरी नदीमा भेटिएको थियो ।
जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको चौरजहारीमा हत्या गरिएको थियो ।



















प्रतिक्रिया