कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतका खेलहरु सुरु भएका छन् ।
बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–० को जित दर्ता गरेको हो । बन्द रंगशालामा खेलहरु सुरु भएका हुन् ।
घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको म्यानचेस्टर सिटीका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरेर सुरुवाति अग्रता दिलाए ।
५१ औँ मिनेटमा पाएको पेनाल्टीमा केविन ड्री ब्रुयनाले गोल गरेपछि सिटीको अग्रता दोब्बर भयो ।
इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा फिल फोडिनले गोल गरेपछि सिटी ३–० ले विजयी भयो ।
आर्सनलका डविड लुइज ४९ औँ मिनेटमा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जितपछि दोस्रो स्थानको सिटीको २९ खेलबाट ६० अंक भएको छ । आर्सनल ४० अंकसहित नवौँ स्थानमा छ ।
बुधबार राति नै भएको अर्को खेलमा एस्टन भिल्ला र शेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।




















प्रतिक्रिया